![](https://internal.appharu.com/wp-content/uploads/2022/09/balen-and-ktm-metro-768x432.png)
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप एक लाख जरिवाना तिराउने बताएका छन् ।
कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो ।
तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयलाई एक लाख जरिवानासहित विवरण ल्याउन अन्तिम पटक प्रमुख साहले आग्रह गरेका हुन् ।
अझै कामपाको आग्रहमाथि आनाकानी गरे कामपाको शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम सम्बन्धित विद्यालयलाई प्रदान गरिएको अनुमसति वा स्वीकृति रद्द गर्नेसम्मको चेतावनी प्रमुख साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
हाल कामपा क्षेत्रभित्र भएका पाँच सय चार निजी विद्यालयमध्ये चार सय ६५ वटाले छात्रवृत्ति बुझाएको विवरण पठाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराए ।
प्रमुख साहका अनुसार प्राप्त भएका विवरणमाथि पनि पुनः एक पटक कामपाले छानबिन गरी सूचना सार्वजनिक गर्नेछ । नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । पटकपटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको ठहर छ ।
कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/image-25-768x768.png)
भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचना नै जारी गरेर कडाइ गरेको थियो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगो शुल्क लिने विद्यालय रहेका थिए ।
कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी पाँच प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।
छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरी विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
SHARE YOUR THOUGHTS