![](https://internal.appharu.com/wp-content/uploads/2023/06/lalita-niwas-pressmeet-768x356.jpg)
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा चार चरणमा हत्याइएको पाइएको प्रहरीले जनाएको छ ।
दोस्रो चरणको अनुसन्धान सुरु गरेसँगै केहीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो विभिन्न समयमा गरेर चार चरणमा ललिता निवासको जग्गा हिनामिना भएको जनाएको हो ।
बुधबार ललिता निवास प्रकरणमा मंगलबार पक्राउ परेका लगायतको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सीआईबीले २० वर्षको अवधिमा ४ चरणमा जग्गा हत्याइएको जनाएको छ ।
२०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको प्रहरी निष्कर्ष छ ।
प्रहरीले हिजो पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गरेको थियो । यद्दपी यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको थियो ।
यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।
हिजो पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।
SHARE YOUR THOUGHTS