काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए ।
देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट स्वीकार्य नहुने उनको भनाइ छ ।
बजेट जस्ताको तस्तै पास गर्न डेढ महिना बजेटमाथि बहस गर्ने निरर्थक संसदीय अभ्यासविरुद्ध आफूहरुको निर्णय महत्वपूर्ण रहेको उनको भनाइ छ ।
‘यो संसदको गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ ।’
प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।
राउतले भनेका छन्-
गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य छैन।
जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ। डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निर्र्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ।
आफूले बोलेको कुरामा ५-६ जना थप सांसदले मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन। तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र बोलीको ठेगान नभएका तथा रतिभर अडान नभएका नेता सांसदले गर्दा नै यो देश श्रापित भएको छ।
SHARE YOUR THOUGHTS