
काठमाडौं । नेकपा एमालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् ।
बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताए । विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको उनको भनाइ छ ।
राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको भन्दै उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको टिप्पणी गरे ।
‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ । योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्’ ओलीले भने, ‘तर हामी बिना इतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो । आज पनि समाज अनेकप्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’ अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्