
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चंखेली गाउँपालिका-२ मा खानेपानीको ट्यांकी निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रकम विनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्यांकी निर्माणको काम सकियो भनेर फर्जी बिल भरपाई पेस गरी सम्पूर्ण रकम निकासा लिएर हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
नगरेको कामलाई भएको भनी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाएर बढी मूल्यांकन गरी भुक्तानीका लागि स्वीकृत गरी, फिल्डमा नभए नगरेको कामसमेतको भुक्तानी दिई ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानि नोक्सानी पुर्याएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएकामा श्रेष्ठसहित इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सब-इन्जिनियर) गोभर्धन बोहोरा, लेखापाल नविन रेग्मी, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा रहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
SHARE YOUR THOUGHTS