![](https://internal.appharu.com/wp-content/uploads/2023/04/Remittance-1-768x403.jpg)
काठमाडौं । नेपालमा हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको हो ।
गत वर्षमा १० खर्ब रेमिट्यान्स आप्रवाह भएको थियो । तर, उक्त रेकर्ड ब्रेक गर्दै चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब १२ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा जनाइएको छ ।
राष्ट्र बैंककाअनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २,६०,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।
SHARE YOUR THOUGHTS