आईपीओ निष्कासन गरेको मैलुङ खोला हाइड्रो अहिले नोक्सानमा, कस्तो छ भावी लक्ष्य ? « Eglish Khabarhub

आईपीओ निष्कासन गरेको मैलुङ खोला हाइड्रो अहिले नोक्सानमा, कस्तो छ भावी लक्ष्य ?



काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन सुरु गरेको छ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन हुने छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी २०६९ साउन ३० गते स्थापना भएको पब्लिक कम्पनी हो । कम्पनीले रसुवा जिल्ला, उत्तरगया गाउँपाालिका-१ भई बग्ने मैलुङ खोलाको बहाव सदुपयोग गरी १४.३ मेगावाट मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई आयोजनाको स्विचयार्डबाट ११ किलो मिटर लामो लामो १३२ केभीको सिंगल सर्किट विद्युत प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको निर्माण भइरहेको नुवाकोट जिल्लाको पहिरेबेसीस्थित त्रिशुली थ्रि बि सब-स्टेसनमा पुर्‍याई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जनाएको छ ।

हाल सम्ममा यस १३२ के.भी. प्रसारण लाइनको ८६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

हालसम्म आयोजनाको सिभिल कार्य, हाइड्रोमेकानिकल कार्य, इलेट्रोमेकानिकल कार्य र प्रसारण लाइन गरी समग्र निर्माण कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले रसुवाको उत्तरगया गाँउपाालिका-१ भएर बग्ने मैलुङ खोलाको पानीको बहाव सदुपयोग हुने गरी १४.३ मेगावाट मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको स्रोत मैलुङ खोला हो । औसत वार्षिक ऊर्जा ७९.६७ गिगावाट घण्टा छ । आयोजनाको प्रसारण लाइन १३२ केपी सिंगल सर्किट रहेको छ । कम्पनीले २०८० साउन १५ बाट व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ । विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २१०७ फागुन २६ सम्म छ । आयोजनामा १७ विभिन्न व्यक्ति तथा कम्पनी संस्थापक सेयरधनी छन् ।

आयोजनामा सानिमा माई हाइड्रोपावर कम्पनीको २३ लाख ७५ हजार कित्ता अर्थात् ३१.६७ प्रतिशत सेयर स्वामित्व छ । यस्तै सानिमा हाइड्रोपावरको ९ लाख ५ हजार, मोल्निया पावर कम्पनीको ७ लाख ४० हजार २५०, सानिमा बैंकको ३ लाख ७५ हजार, सोपान मल्टिपल कम्पनीको ३ लाख ३९ हजार ७६५, मैलुङ खोला जलविद्युत कम्पनीको २ लाख ५९ हजार २३१, जय गणेश इन्भेष्टमेन्ट प्रालिको २ लाख ३५ हजार र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै कमलराज मैनालीको २ लाख, अल्का निराला ओझाको १ लाख, साम्बा लामाको १ लाख, केदारमणि पौड्यालको १ लाख, सिग्मा कोन प्रालिको १ लाख, सीताराम कट्टेलको १ लाख, संज्ञान कार्कीको १ लाख,  धितोपत्र व्यवसायी प्रियराज रेग्मीको १ लाख कित्ता र ताराप्रसाद पोखरेलको ७५ हजार कित्ता सेयर स्वामित्व छ ।

कम्पनीको सञ्चालक तथा अध्यक्ष रामेश्वर रिजाल छन् । उनको २५ हजार कित्ता सेयर छ । सञ्चालकमा घनश्याम थापाको २३ लाख ७५ हजार कित्ता, सञ्चालक अजय कार्कीको ९ लाख ५ हजार र सञ्चालक सरोजा पौड्यालको ५० हजार कित्ता सेयर स्वामित्व छ ।

अहिलेसम्म कम्पनी नोक्सानीमा छ । आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कम्पनी १ करोड ३० लाख ७२ हजार नोक्सानमा छ । यसअघि नोक्सानमा रहेको कम्पनीले आगामी आवदेखि नाफा कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीले आव २०७९/०८० मा ६१ लाख ७२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै आव २०८०/०८१ मा ८ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०८१/०८२ मा १० करोड ३२ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।

चैत मसान्तसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ८२ पैसाले ऋणात्मक छ । कम्पनीले आव २०७९/०८० मा प्रतिसेयर आम्दानी ३६ पैसा हुने प्रक्षेपण गरेको छ । यस्तै आव २०८०/०८१ मा ८ रुपैयाँ ४३ पैसा र आव २०८१/०८२ मा १० रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी हुने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ चैत मसान्तसम्म ९४ रुपैयाँ १४ पैसा छ । आव २०७९/०८० मा प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ६५ पैसा हुने प्रक्षेपण गरेको छ । यस्तै आव २०८०/०८१ मा १०६ रुपैयाँ ८ पैसा र आव २०८१/०८२ मा ११६ रुपैयाँ ४० पैसा प्रतिसेयर नेटवर्थ रहने प्रक्षेपण कम्पनीको छ ।

Publish on: