अब नेपालमै एआईसम्बन्धी पढाइ: नामी र किङ्स कलेजको सहकार्यमा ६ महिने कार्यक्रम « Eglish Khabarhub

अब नेपालमै एआईसम्बन्धी पढाइ: नामी र किङ्स कलेजको सहकार्यमा ६ महिने कार्यक्रम



काठमाडौं । नेपालमै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन/अध्यापन हुने भएको छ । किङ्स कलेज र नेपाल अप्लाईड म्याथमेटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिचर्स (नामी)को सहकार्यमा नेपालमा नै ‘एआई शैक्षिक कार्यक्रम’को सुरुवात हुने भएको हो ।

बुधबार बबरमहलस्थित किङ्स कलेजमा एक कार्यक्रमका बीच उक्त शैक्षिक कार्यक्रमको सुरुवात गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नामी कलेजका अध्यक्ष नारोत्तम अर्याल तथा नामीका निर्देशक डा. विशेष खनालले हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन तथा अध्यापनलाई प्राथमिकता दिँदै आएको किंड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थान नामीले छिट्टै नै एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिए । यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्स्सम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

‘पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलीजेन्स्‌को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरिएको हो’, किंड्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले भने, ‘आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरू मध्येको एक हो, जसबाट हासिल हुने ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरू सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमान ल्याउन सकिने मैले विश्वास लिएको छु ।’

त्यस्तै, विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्‌को तीब्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुचि बढिरहेको यथार्थलाई ध्यानमा राखी यस बारे विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा प्राज्ञिक शिक्षा प्रदान गरिने नामीका निर्देशक खनाललले बताए । उनले भने, ‘एआईलाई प्रयोग गर्ने मात्र नभई विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने एआई आधारित सफ्टवेयरहरू बनाउन सक्ने जनशक्ति देशभित्र तयार गर्ने यस शैक्षिक कार्यक्रमको उद्देश्य हुनेछ ।’

यो शैक्षिक कार्यक्रम ९० शिक्षण घण्टा (क्रेडिट आवर)को हुनेछ । किङ्स कलेजकाअनुसार ६ महिनाको यो कार्यक्रममा यसअघिबाट नै प्रोगामिङको क्षेत्रमा काम गरिरहेका तथा मास्टर्स सकेका विद्यार्थीहरुले पढ्न पाउनेछन् । यो पाठ्क्रमले नेपालमा पनि विभिन्न स्टार्टअपहरुमा एआईको प्रयोग बढाउनेदेखि नेपालबाट विदेशमा समेत सेवा निर्यात गर्ने किसिमको जनशक्ति विकास हुनेमा अपेक्षा राखिएको खनालले बताए ।

Publish on: