
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्नको अत्याधिक मूल्य बढेको निष्कर्ष निकालेको छ । विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनबाट खाद्यान्नको मूल्य रुस-युक्रेनबीचको द्वन्द्वपछि बजारमा मूल्य बढेको निष्कर्ष निकालेको हो ।
विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले अहिले चामलको मूल्य उद्योगमा प्रतिबोरा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बढेको पाइएको बताए । उनकाअनुसार सोही चामल खुद्रा बजारमा पुग्दा प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको पाइएको हो ।
व्यवसायीहरुले विभागलाई पछिल्लो १५ दिनमा भारतबाट आयात गरेको ५५ हजार मेट्रिक टन चामलको मूल्य भारतमा नै मूल्य बढेकाले नेपालमा पनि सोहीअनुसार बढाएको सूचना दिएको छ । भारतीय बजारमा नै चामलको प्रतिकेजी ३ रुपैयाँ बढेकाले नेपाली उद्योगीहरुले पनि हालै आयात भएको चामलको मूल्य बढाएको व्यवसायीहरुबाट जानकारी आएको उनले बताए ।
त्यसैगरी, बजारमा अहिले विगतको तुलनामा चिनीको मूल्य १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको पाएको जनाएको छ । त्यसबाहेक आँटाको मूल्य भने अहिले ५ रुपैयाँदेखि १० रुपैयाँ घटेको उनको भनाइ छ ।
विभागले बजारमा अनुगमन गरिसकेपछि खाद्यान्नमा ४ प्रतिशनदेखि १३ प्रतिशतसम्म मूल्य बढेको निष्कर्ष निकालेको छ । त्यस्तै, विभागले के कारणले मूल्य बढेको हो भन्नबारे जानकारी लिइरहेको र अनुगमन गरिरहेको उनले बताए ।
विभागले अहिले बजारमा देखिएको मूल्यवृद्धिबारे तीन जना टोलीले दैनिक अनुगमन गर्दै आएका छन् । आगामी दिनमा सरोकारवाला निकायसँग सहकार्य गरेर अनुगमनमा तीब्रता दिने तयारी भएको ठाकुले जानकारी दिए ।
विभागले गृह मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्यय समिति र स्थानीय तहसँगको सहकार्यमा अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
SHARE YOUR THOUGHTS