भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १० जनाविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा « Eglish Khabarhub

भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १० जनाविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा महाकालीको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त हुनुपर्ने आयमा नियमविपरीत छुट दिएको आरोप लगाउँदै अख्तियारले पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना र भवानी कन्स्ट्रक्शन प्रालिविरूद्ध मुद्दा दर्ता गरिएको हो ।

विष्टको अध्यक्षतामा बसेको तत्कालीन नगर सभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सिफारिसको आधारमा १ करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँ बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले विष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसूरमा विगो १ करोड ३४ लाख ९७ हजार ४५३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदाबी गरेको छ ।

Publish on: