भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दास विश्वकै उच्कृष्ट सूचीमा पर्न सफल भएका छन् ।

आरबीआई गभर्नर दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।

‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको छ ।

दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।

ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड दिँदै आएको छ ।

दास विश्वकै उत्कृष्ट गभर्नर भएको रिपोर्ट प्रकाशित भएपछि भारती प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् ।

‘गभर्नर शक्तिकान्त दासलाई बधाई । यो भारतका लागि गौरबको क्षण हो । यसले संसारमै हाम्रो वित्तीय क्षेत्रको नेतृत्वको अवस्था दर्शाउँछ । दासको समपर्ण र दुरदर्शिता हाम्रो देशको विकासको यात्रा बलियो बनाइरहेको छ ,’ मोदीले बधाई दिँदै भनेका छन् ।