आन्दोलनका नाममा विद्यालय बन्द भए काठमाडौं महानगरपालिकाले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)का प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार शिक्षकहरुले आन्दोलन गरे पनि विद्यालय भने बन्द गर्न नमिल्ने बताएका हुन् । उनले भने, ‘स्कुल बन्द गर्न मिल्दैन । विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्छ ।’

महानगरले पछिल्लो पटक संशोधन गरेको शिक्षा नीतिमा विद्यालयलाई राजनीतिबाट मुक्त गरिने र शिक्षकलगायतले दलको सदस्य पनि हुन नमिल्ने व्यवस्था गरेको छ । शिक्षा ऐनमा पनि संशोधन गरिएको बताउँदै बजगाईंले स्कुल बन्द गरेर आन्दोलन गर्न नमिल्ने बताए ।

‘स्कुल बन्द नगर्नु भन्ने हो,’ बजगाईंले भने, ‘स्कुल बन्द गरेर आन्दोलन गरे सधैंका लागि नै विद्यालय बन्द गराउने बाटो खोज्दै छौं।’

शिक्षकहरुले आन्दोलन गर्न पाउने, तर त्यसले विद्यालयको पठनपाठन बिग्रन नहुने र विद्यालय बन्द हुन नहुने उनले बताए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकको बिरोधमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार देशभरिका विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहँदा महानगरले आफू मातहतका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए कारबाहीको चेतावनी दिएको हो ।