विदेश पठाइदिन्छु भन्दै ४ करोड रुपैयाँ ठगी गरेको २० म्यानपावरको लाइसेन्स खारेज

काठमाडौं । विभिन्न मुलुकमा विदेश पठाइदिन्छु भन्दै करिब ४ करोड रुपैयाँ ठगी गरेको विस एचआर सोलुसन म्यानपावरको इजाजत पत्र खारेज भएको छ । वैदशिक रोजगार विभागले आज सूचना जारी गर्दै ठगी गरेको म्यानपावरको इजाजत पत्र खारेज गरेको हो ।

म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोईराला भनिने फडिन्द्र कोईराला समेतको मिलेमत्तोमा सरिता भुजेल लगायतका ४३ जनालाई पोल्याड, क्रोएसिया, जापान, कतार तथा अमेरिका समेतका देशहरुमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ३ करोड ८२ लाख २८ हजार रुपैयाँ रकम लिएका थिए ।

तोकेको बमोजिम रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र फिर्ता समेत नगरी ठगी गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसूर गरेकोमा प्रतिवादीहरुलाई ऐनको दफा ४४ बमोजिमको सजाय गरेको विभागले जनाएको छ ।

साथै म्यानपावरको इजाजत पत्र समेत खारेज गरी सोही ऐनको दफा ४४ बमोजिम जाहेरवाला/निवेदकहरु सरिता भुजेल लगायतका जम्मा ४३ जनाको कुल विगो र सोको पचास प्रतिशतले हुन आउने हर्जाना समेत पीडितहरुलाई दिलाई भराई पाउन मागदावी लिई वैदेशिक रोजगार न्यायाधिकरण समक्ष अभियोगपत्र दायर गरिएको विभागले विज्ञप्तिमा उल्लेख छ ।