काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले २ हजार रुपैयाँका नोटहरु ९६ प्रतिशत फिर्ता आएको बताएको छ ।
शनिबार आरबीआईले देशमा रहेका २ हजार रुपैयाँको नोटहरु अक्टोबर ७ सम्म साट्न पाइने जनाएको थियो । आरबीआईले जारी गरेको विज्ञप्तिकाअनुसार २ हजार रुपैयाँको नोट साट्नका लागि तोकिएको समय थप लम्बाइएको छ ।
तोकिएको समयमा बैंकमा साट्न छुटेका सर्वसाधारणले आरबीआईले निर्धारित गरेका विभिन्न १९ ठाउँमा यी नोटहरु साट्न पाउनेछन् ।
आरबीआईले गत मे महिनामा २ हजार रुपैयाँको नोट छाप्न छाड्ने र फिर्ता ल्याउने जानकारी दिएको थियो । यसका लागि सेप्टेम्बर ३० सम्मको समय तोकिएको थियो । २ हजार रुपैयाँको नोटलाई फिर्ता ल्याइए पनि यो भारतको राष्ट्रिय मुद्राका रुपमा भने रहनेछ ।
आरबीआईकाअनुसार भारतमा हाल १ खर्ब ४० अर्ब भारतीय रुपैयाँ (२ खर्ब २४ अर्ब ५० करोड ४७ लाख १८ हजार नेपाली रुपैयाँ) बजारमा रहेको छ ।
सेप्टेम्बर २९ सम्म फिर्ता आएका २ हजारका नोट बाहेक यती बराबरका नोटहरु बजारमा रहेका छन् । यसअघि ३५ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबरका २ हजार रुपैयाँका नोटहरु बजारमा रहेका थिए ।
आरबीआईकाअनुसार ९६ प्रतिशत २ हजार रुपैयाँका नोटहरु बजारबाट फिर्ता आएका छन्, जसको भ्याल्यु ३४ खर्ब २० अर्ब भारतीय रुपैयाँ रहेको छ ।
भारत सरकारले सन् २०१६ मा २ हजारको नोटलाई सार्वजनिक गरेको थियो । मोदी सरकारले डिमोनिटाइजेसनका रुपमा यी मुद्राहरुलाई बजारमा सार्वजनिक गरेको थियो । तर, भारतको केन्द्रीय बैंक आरबीआईले ठूलो मुद्राको बजारमा हुने सर्कुलेसनलाई कम गर्न चाहेको र चार वर्षअघि नै यसलाई छाप्न बन्द गरिएको जनाएको छ ।
SHARE YOUR THOUGHTS