![](https://internal.appharu.com/wp-content/uploads/2023/10/2-2-768x576.jpg)
काठमाडौं । होटल संघ नेपालले कोभिडकोपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमण प्रतिको आकर्षण बढाउन र सीमानाका लगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरुमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग छलफल गरेको छ ।
अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले तामाङसँगको छलफल पश्चात प्रतिनिधिमण्डलले राखेका जिज्ञासा तथा सुझावहरुप्रति यसबारे महानिर्देशक तामाङले सकारात्मकता दर्शाउँदै संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बूढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गिकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत गरेको छ ।
महानिर्देशक बूढाले उक्त सुझावहरुलाई समय सापेक्ष बनाइने र निरन्तर संवाद र छलफलमार्फत व्यवसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिवद्धता व्यक्त गरे ।
उक्त प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा कार्यसमिति सदस्य अश्लेषा कार्कीले उपस्थिति जनाई आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
SHARE YOUR THOUGHTS