![](https://internal.appharu.com/wp-content/uploads/2023/10/CNI-768x403.jpg)
काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारीको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसर सिर्जना, जीवनस्तर विकास तथा उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको परिसंघले जनाएको छ ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताको विषय, सवाल र मुद्दामा आधिकारिक रुपमा सहकार्य भएको सम्भवत: यो पहिलो अभ्यास भएको बताए । यस प्रकारको समझदारीले उत्पादन, सीप र रोजगारीका समस्या तथा चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
श्रमिक र रोजगारदाताबीचको सौहार्द्रपूर्ण सम्बन्धबाट नै आर्थिक समृद्धि हासिल गर्न योगदान दिन सकिनेमा परिसंघ स्पष्ट रहेको अग्रवालले बताए । ‘मजदुर र मालिक होइन, यी दुई आर्थिक समृद्धिका सहयात्री हुन् भन्ने विषयलाई आत्मसात् गर्न जरुरी छ,’ उनले भने, ‘यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद सन्देश बन्नेछ ।’
केन्द्रका अध्यक्ष श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध ‘बाघ र बाख्रा’ जस्तो द्वन्द्वत्मक रहेको तर अहिले ‘पानी र माछा’ जस्तो भएको तर्क गरे । ‘यो सम्बन्धलाई आत्मसात् गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्द्रपूर्ण वातावरण तयार भएको र रोजगारदातासँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको हो ।’
परिसंघका उपाध्यक्ष भीम घिमिरेले यस समझदारी देशको आर्थिक समुन्नति, औद्योगिक विकास र वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गरे ।
SHARE YOUR THOUGHTS