१६ वर्ष शिक्षण पेसा, १५ वर्ष बुटिक व्यवसाय, अहिले ड्रागन फ्रुट खेती « Eglish Khabarhub

१६ वर्ष शिक्षण पेसा, १५ वर्ष बुटिक व्यवसाय, अहिले ड्रागन फ्रुट खेती



तनहुँ । तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गरेकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख रुपैयाँ आम्दानी गरेकी छन् । २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेकी उनले ९ पटकसम्म दुई हजार किलो ड्रागन उत्पादन गरेकी हुन् ।

‘अब बढीमा ३ लाखको बिक्री हुने अनुमान गरेको छु,’ गौलीले भनिन्, ‘तीन पटक फल दियो भने पहिलो वर्षको कुल आम्दानी १२ देखि १३ लाख हुन्छ ।’

उत्पादित ड्रागन फ्रुट दमौली बजार क्षेत्रमा खपत हुने गरेको छ । वैशाखमा फूल खेल्न सुरु हुने ड्रागन ६० दिनभित्र खानायोग्य हुन्छ । दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएको उनले बताइन् ।

उत्पादित ड्रागनलाई बजारको कुनै समस्या छैन । ‘कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफैंले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु,’ गौलीले भनिन् । उत्पादित ड्रागन प्रतिकिलो ५ देखि ६ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले बताइन् ।

गौलीले करिब ९ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेकी हुन् । ‘गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ,’ उनले भनिन्, ‘यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।’

सुरुमा करिब ८० लाख खर्च भएको भन्दै उनले त्यसमध्ये ४२ लाख ५० हजार खेतीमा लगानी गरिएको गौलीले बताइन् । ‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत खेती पनि गरेको छु,’ उनले भनिन् ।

उनले फार्ममा ५ सय पोल निर्माण गरी एउटा पोलमा ४ वटाका दरले ड्रागनका बिरुवा लगाएकी छन् । बिरुवा रोपेको ५ महिनाको अवधिमा केही बोटमा फल लागेको थियो ।

किसान गौलीले यस वर्ष ३ लाखभन्दा बढीको त ड्रागनका बिरुवा नै बिक्री गरिन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सयसम्ममा बिक्री हुने गरेको छ । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।

नेपालमा प्रांगारिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौली बताउँछिन् । चिसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले रोकथाम गर्न प्रांगारिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमाली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाइन् । १६ वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौलीले अहिले ड्रागन खेतीसँगै व्यास-३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ पनि सञ्चालन गरेकी छन् ।

स्थानीय स्तरमा उत्पादित प्रांगारिक तरकारी, घरेलु सामग्री तथा कपडालगायत उक्त कोसेली घरमा बिक्री गर्ने गरेकी छन् ।

Publish on: