बाढीले उजाडेको कागबेनी पुनर्निर्माण गर्न ५० करोड दिने घोषणा, कहिले होला कार्यान्वयन ? « Eglish Khabarhub

बाढीले उजाडेको कागबेनी पुनर्निर्माण गर्न ५० करोड दिने घोषणा, कहिले होला कार्यान्वयन ?


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

गण्डकी । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते सम्साँझै आएको बाढीले उनको उठिबास गराएको थियो ।

पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् ? कुनै ठेगान छैन । ‘आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो,’ उनले भने, ‘सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।’ दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन ।

यसपालिको वर्षात‍मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । ‘पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ,’ उनले भने, ‘कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्‍यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।’

कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् ।

कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्‍याएको थियो । ‘बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के-कति सरसामान हरायो यकिन छैन,’ ६३ वर्षीय गुरुङले भने, ‘मेरो घरमा २० लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।’

कृष्णले विभिन्न संघसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारिरहेको बताए । ‘सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफैं जुटेको कृष्णले बताए ।

उनले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको छ । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिरोजस्ता विपद् निम्तिन थालेको बताए । ‘पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ,’ उनले भने, ‘कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।’

अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनर्निर्माणबारे सरकारी तवरबाट भौगर्भिक अध्ययन भइरहेको बताए ।

‘बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुन:स्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुनर्निर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ,’ अध्यक्ष रिङजिनले भने, ‘बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।’

अध्यक्ष रिङजिनले सरकारले विस्तृत अध्ययन गरेरमात्र कागबेनी बस्ती पुनर्निर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे ।

‘बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनबिना भौतिक निर्माणका काम अगाडि बढाउनु हुँदैन,’ अध्यक्ष रिङजिनले भने, ‘ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनर्निर्माणमा ढिलाइ गर्नु हुँदैन ।’

पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।

विस्थापित हुने परिवारको संख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेर-थोर प्रभावित हुने घरधुरी भने सयौं छन् ।

‘२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनर्निर्माण नै गुर्नपर्ने अवस्थाका छन्,’ अध्यक्ष रिङजिनले भने, ‘बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।’

विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झन्डै ८० लाख संकलन भएको उनको भनाइ छ ।

‘देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय संघसंस्था पनि राहत अभियानमा जोडिएका छन्,’ संयोजक गुरुङले भने, ‘स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।’

सहयोग रकम उद्धार र राहतमा खर्च भइरहेको उनले बताए । ‘बाढी आउनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए,’ उनले भने, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुनर्निर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनर्निर्माणको काम सुरु हुनेछ ।’

बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक गुरूङले बताए । उनले जोखिम अध्ययन गरेरमात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राखे ।

‘कागबेनी पहिलेदेखि नै खोलामाथि बसेको बस्ती हो, करिब १२० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्,’ उनले भने, ‘प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनु हुँदैन ।’

तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सके तीन-चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक गुरूङले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनर्निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको संगमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक गुरुङले उल्लेख गरे । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् ।

हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवंगत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनर्निर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनर्निर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको उनले बताए । भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गरेका थिए ।

ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनर्निर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढंगले कागबेनी बस्तीको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुनर्निर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताएका थिए । कात्तिक २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।

निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका थिए । उनले जलवायुजन्य विपद् सामनाका लागि विकास साझेदारबाट आउने ५० करोड रुपैयाँ मुस्ताङलाई दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping