कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने « Eglish Khabarhub

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने



काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिनबराबरको पारिश्रमिक सहयोगस्वरुप सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

Publish on: