काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले भारतबाट अवैद्य रुपमा भित्रिने फूल र माला नियन्त्रणमा लिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
सचिव शर्माले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सावित्री बराललाई अवैध रुपमा भारतबाट भित्रिएका सयपत्री फूल र माला नियन्त्रणमा लिन निर्देशन दिएका हुन् ।
सचिव शर्माले बजारमा आएको फूलहरुको बारेमा कडाइका साथ अनुगमन गरी अवैध लागेको अवस्थामा जफत गर्नसमेत निर्देशन दिएका छन् ।
बुधबार नै नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) र नेपाल नर्सरी व्यवसायी संघको प्रतिनिधि टोलीले छुट्टाछुट्टै रुपमा सचिव शर्मालाई भेटेर तिहारको मुखमा भारतबाट आयात हुन लागेको सयपत्री फूल र मालाको कारण नेपाली किसानको उत्पादन खेर जान लागेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
दुवै टोलीले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन भएको अवस्थामा भारतबाट आयात हुँदा नेपाली उत्पादनले बजार नपाउने भन्दै सचिव शर्माको ध्यानाकर्षण गराएका थिए ।
शर्माले यो बिषयमा आवश्यक छलफल गरी निश्कर्ष निकाल्ने टोलीलाई आश्वासन दिएका थिए ।
यस्तै फ्यानको टोली बुधबार नै गृह मन्त्रालयका अधिकारीलाई भेटेर छलफल गरेका थिए । तिहारको मुखमा आयात हुन लागेको सयपत्री फूल र मालाका साथै अवैद्य रुपमा आयात हुने यस्ता बस्तु नियन्त्रणमा लिने बिषयमा छलफल भएको फ्यानले जनाएको छ ।
‘गृह मन्त्रालयका अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई यो बिषयमा ध्यानाकर्षण गराउने आश्वासन दिनु भयो,’ छलफलमा सहभागी एक व्यवसायीले बताए ।
SHARE YOUR THOUGHTS