मेन स्टोरी लेफ्ट

के भारतमा बन्दैछ पशुपतिनाथ मन्दिर ?



काठमाडौं । भारतमा पशुपतिनाथ मन्दिर बनाउन लागेको भन्दै केही दिनयता सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यसैबीच पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचार प्रकाशन भएको भन्दै त्यसमा कुनै सत्यता नभएको कोषले जनाएको छ ।

उक्त समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कोषले सूचना प्रकाशन गरेको छ ।

‘समग्र हिन्दूहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यममा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

भ्रामक समाचारका कारण हिन्दू धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको कोषको भनाइ छ ।

केही भारतीय सञ्चारमाध्यमहरुमा अब उत्तराखण्डमा पशुपतिनाथ बन्ने र यससँगै त्यहाँ ५ वटा धाम रहेको समाचारहरु प्रकाशन भएका थिए ।