
काठमाडौं । कृषियोग्य जग्गामा महिलाको स्वामित्व ३४.४ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार कृषि कर्म गर्ने ३४.४ प्रतिशत महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । कृषि जमिनको स्वामित्व पाएको पुरुषको प्रतिशत ६५.६ प्रतिशत पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालय (साविकको केन्द्रीय तथ्यांक विभाग) ले गत २०७८ वैशाख ६ गतेदेखि जेठ १९ सम्म ७७ वटै जिल्लामा सातौं राष्ट्रिय कृषि गणनाअन्तर्गत कृषिसम्बन्धी तथ्यांक संकलन गरेको थियो ।
उक्त गणनाको मुख्य तथ्यांक २ महिनाअघि सार्वजनिक भए पनि नेपालमा पहिलो पटक कृषि जमिनमाथि महिला किसानको पहुँच कति प्रतिशत पुगेको छ भनेर यो तथ्यांक सार्वजनिक गरिएको हो ।
कृषि गणनाले नेपालको कुल जनसंख्यामध्ये ६२ प्रतिशत घरपरिबार कृषि क्षेत्रमा संलग्न रहेको देखाएको थियो । यसमध्ये ३२ प्रतिशत घरपरिवारको मूली महिला किसान रहेको फेला परेको छ ।
गणनाअनुसार १८ वर्ष पुगेका र यो वर्षभन्दा बढी उमेरका देशभर १ करोड ३२ लाख ११ हजार ३४९ जना कृषि क्षेत्रमा लागेको पाइएको थियो । यो संख्यामध्ये झन्डै ३४.४ प्रतिशतका दरले १४ लाख ३० हजार ७१९ महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । यस्तै २७ लाख २३ हजार ६२५ जना पुरुषले कृषि जमिनमा स्वामित्व प्राप्त गरेका छन् ।
कृषि क्षेत्रमै काम गर्ने महिला किसानको पहुँच पनि कृषि जमिनमा पुरुषसरह नदेखिएको यो गणनाको तथ्यांकले देखाएको छ । कृषि जमिनको स्वामित्वको सवालमा पनि पुरुषभन्दा महिला निक्कै पछि परेको तथ्यांकको निचोड छ ।
कार्यालयकमा निर्देशक बद्रीकुमार कार्कीका अनुसार दिगो विकास लक्ष्यको सूचक फाइभ ए वानसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त भएको तथ्यांकको आधारमा कृषि जमिनमाथि महिलाको पहुँचको अवस्थाको तथ्य बाहिर ल्याइएको हो ।
कृषि जमिनको स्वामित्वको सवालमा सबैभन्दा अगाडि गण्डकी प्रदेश देखापरेको छ । गण्डकी प्रदेश सरकारले जग्गाको स्वामित्व महिलाको नाममा सार्दा राजस्वमा केही छुट दिएकाले महिलाको स्वामित्वमा कृषि जमिन बढी देखिएको कार्कीले बताए।
गण्डकी प्रदेशमा कृषिमा संलग्नको संख्या ११ लाख ४९ हजार ७६ जना छ । यसमध्ये ३८.५ प्रतिशतका दरले १ लाख ५२ हजार ८७९ जना महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् भने २ लाख ४४ हजार ५ सय ५५ जना पुरुषले कृषि जमिनको स्वामित्व पाएका छन् ।
यस्तै सबैभन्दा कम कर्णालीका महिला किसानको जमिनमाथि पहुँच पुगेको छ । कर्णालीमा ९ लाख ४३ हजार ७०१ जना महिला पुरुष किसान छन् । यसमध्ये २८.७ प्रतिशतका दरले कृषि जमिनमाथि ७८ हजार ५ सय ४५ महिलाको स्वामित्व पुगेको छ ।
कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले सरकारको लक्ष्य प्राप्तिका लागि नेपालमा यो नयाँ तथ्यांक संकलन गरी सार्वजनिक गरिएको बताए । राष्ट्रिय योजना आयोगले २४४ सूचकहरुको बारेमा नियमित अनुगमन गर्दै आएको बताउँदै उनले सार्वजनिक भएको कृषि जमिनमाथि महिला पुरुषको स्वामित्वसम्बन्धी तथ्यांकले समेत महिला र पुरुष असमान अवस्थामा रहेको फेला पारिएको जानकारी दिए ।
सरकारले यो तथ्यांकलाई आधारमा बनाएर आगामी दिनमा कृषि जमिनमाथि महिलाको स्वामित्व बढाउने उद्देश्यले नीति बनाउने रेग्मीले बताए ।
SHARE YOUR THOUGHTS