अन्तःशुल्क स्टिकर दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ « Eglish Khabarhub

अन्तःशुल्क स्टिकर दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ



विराटनगर । अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङमा एक व्यापारी पक्राउ परेका छन् ।

राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्क स्टिकर दुरुपयोग गरेको आरोपमा धनपालथान गाउँपालिका–४ का सुनिलकुमार राजवंशी पक्राउ परेका हुन् ।

कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक राजवंशीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

विभिन्न ब्रान्डका गुट्खा र अन्य सुर्तीजन्य पदार्थको प्याकेटमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रयोग भइसकेका स्टिकर संकलन गरी पुनः प्रयोग गर्ने उद्देश्यले उनले बिक्री गर्ने गरेको र त्यसबाट ठूलो परिमाणमा राजस्व छली हुँदै आएको पाइएको प्रहरीले जनाएको छ ।

सुर्तीजन्य पदार्थमा लगाइने अन्तःशुल्कको स्टिकर भण्डारण गरी राजवंशीले राख्ने गरेका थिए । संकलित ती स्टिकर बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने करेन्ट नामको गुट्खामा पुनः प्रयोगका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Publish on: