![](https://internal.appharu.com/wp-content/uploads/2022/12/kaligandaki-bridge-768x528.jpg)
बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।
विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।
‘पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने ।
विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
‘हालसम्म १२ करोड भुक्तानी भइसकेको छ’, उनले भने । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ’, लालझाडी–४ का कृष्ण राना भन्छन् ।
वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीय काठको अस्थायी पुलमा पैसा तिरेर नदी ओहोरदोहोर गर्छन् ।
‘पक्की पुल निर्माण नहुँदा वर्षौँदेखि नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ’, लालझाडी गाउँपालिका–५ का धोके रानाले भने, ‘पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ । बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।’
दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठको अस्थायी पुलमा यात्रा गर्ने गरेको लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताए ।
‘वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन । पक्की पुल भएर आउजाउ गर्ने सपना नै छ’, उनले भने, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, जितेर गएपछि बिर्सिन्छन् ।’
स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीको भनाइ छ ।
‘वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ’, उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।’
प्रतिक्रिया