
काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड क्षेत्रमा तारजाली लगाउने भएको छ । उक्त कामका लागि महानगरले सोमबार बोलपत्र आह्वान गरेको छ । तारजालीका लागि १ करोड ८९ लाख ३८ हजार २५८ रुपैयाँ लाग्ने महानगरले अनुमान गरेको छ ।
मुख्य सडक र ट्रयाक रोडको बीचमा रहेको खाली ठाउँमा तार जाली गरेर बन्द गर्ने महानगरले जनाएको छ ।
महानगरको सार्वजनिक निर्माण विभागका अनुसार मेयर बालेन्द्र शाहले खाली रहेका यस्ता स्थानमा अनाधिकृत पार्किङ भइरहेको र धेरै धुलो उड्ने समस्या रहेको भन्दै तारजाली गर्ने योजना अघि सारेका हुन् ।
बाफलदेखि बसुन्धारासम्म सडकसँगको खाली रहेको ठाउँमा तारजाली गर्नका लागि ठेक्का आह्वान गरिएको विभागले जनाएको छ ।

त्यस्तै महानगरले ७९ लाख रुपैयाँ खर्च गरेर फुटसल निर्माण गर्ने भएको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना प्रकाशित गर्दै काठमाडौं वडा नम्बर १७ स्थित धोविचौरमा फुटसल निर्माण गर्ने जानकारी दिएको हो ।
महानगरले उक्त फुटसल निर्माणका लागि बोलपत्र पनि आह्वान गरेको छ । महानगरले कुल ७९ लाख ८८ हजार ८६६ रुपैयाँ अनुमानित लागतमा उक्त फुटसल निर्माण गर्ने जानकारी दिएको छ ।

SHARE YOUR THOUGHTS