अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा « Eglish Khabarhub

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरीतको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएर भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

अभियोगपत्रमा अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उप–प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटालाई पनि विपक्षी बनाइएको छ । ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद माग दाबी गरेको छ ।

Publish on: