
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खानेलाई सम्मान गरिएको छ ।
गाउँपालिकाले जाँडरक्सी खाने पुरुष मात्र नभइ नियमित रक्सी सेवन गरी घरवार लथालिंग भएका महिलालाई पनि फूलमालाले सम्मान गरेको छ ।
रिब्दीकोटले ६० जनालाई गाउँपालिकाको कार्यालयमा जम्मा गरी टिका, फूलमाला र पोसाक वितरण गरी सम्मान गरेको हो ।
गाउँपालिकाले रक्सी खाएकालाई सम्मान गरेको र रक्सी खाएर मातिएर आएर नाचेकाहरुको भिडयो सामाजिक सञ्जालमा यतिबेला भाइरल छ । रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरेका थिए ।
आफू जस्तै नियमित रक्सी खाएर हिँड्ने कयौंलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी खुसी देखिए । मञ्चमा गए । रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत उनले गाए ।
त्यसपछि उनी भावुक बने । कक्षा ८ मा पढ्दै गरेको छोरीलाई सम्झदै उनले भने, ‘अब चिन्ता नलिउ छोरी, आजदेखि रक्सी खान छोडें । तिमीलाई चाहेजति पढाउँछु ।’ उनले त्यसो भनिरहँदा रक्सी खाएकाले सम्मानित भएकाहरुले ताली पिटे ।
अन्य केही पनि मञ्चमै पुगेर रक्सी नखाने प्रतिवद्धता जनाएका छन् ।
रिब्दीकोट ३ खस्यौलीका रक्सी पिएका अर्का एक पुरुषले पनि आफू विहानैदेखि रक्सी खाएर बसिरहँदा पालिकाका प्रहरीहरु देखेपछि लिन आएको हो कि भनेर डराएको तर सम्मान गर्न ल्याएको भन्दै अच्ममा परेको बताए ।
पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँ झैं झगडा कलह भएको, अन्त्यमा कम उमेरमै मृत्यु भइरहेका घटनाहरूलाई ध्यान दिएर उनीहरुलाई सम्मान गरेर कुलत छाड्न आग्रह गरिएको रिब्दीकोट गाउँपालिकाले जनाएको छ ।
SHARE YOUR THOUGHTS