![](https://internal.appharu.com/wp-content/uploads/2022/03/mofa-and-election-commission-768x432.jpg)
काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई बैशाख १५ गते २ वटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १० करोड ९५ लाख रुपैयाँ निकासा गरेको छ ।
प्रतिनिधि सभाको १ सिट र प्रदेश सभाको १ सिटका लागि निर्वाचन गराउने जिम्मेवारीमा रहेको आयोगले अर्थमन्त्रालयसँग १२ करोड रुपैयाँ माग गरेको थियो ।
अर्थमन्त्रालयले भने दुई क्षेत्रमा निर्वाचन गर्नका लागि आयोगबाट धेरै रकम माग भएको भन्दै माग भए बमोजिमको रकम विनियोजन गर्न नसक्ने जवाफ दिएका थिए ।।
आफूले निर्णय गरेर माग गरे बराबरको रकम दिन अर्थ मन्त्रालयले आनाकानी गरेको भन्दै आयोगका प्रतिनिधिले दबाब बढाएपछि मन्त्रालयले ११ करोड ९५ लाख रुपैयाँ निकासा गरेको हो ।
संवैधानिक आयोगले निर्णय गरेर माग गरेको विषयमा अर्थमन्त्रालयले नाइनास्ती गर्न नमिल्ने निर्वाचन आयोगका प्रतिनिधको अडानपछि अर्थले बजेट निकासा गरेको हो ।
इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेम्वाङको भदौ २६ गते हृदयघातबाट र सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।
कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १५ का लागि मिति तोकेको हो ।
यसअघि माघ ११ मा राष्ट्रिय सभाको निर्वाचनका लागि आयोगले ६ करोड रुपैयाँ माग गरेको थियो । तर अर्थमन्त्रालयले त्यतिबेला ३ करोड रुपैयाँ निकाशा गरेको थियो । उक्त निर्वाचन ७ स्थानमा भएको थियो ।
प्रतिक्रिया