![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhari1-1.png)
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उद्योगी एवं सांसद विनोद चौधरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिएका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा छानबिन गरिरहेको सीआईबीले सरकारी वकिलको कार्यालयको रोहबरमा बयान लिएको हो ।
ब्यूरोले बिहीबार बिहान चौधरीसँग माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएको हो । चौधरीसँग बयान लिनुअघि ब्यूरोले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर जानकारी गराएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhary4.png)
चौधरीले १ घण्टा बढी बयान दिएका छन् । उनले आफूलाई बयान दिन बलाउने विषय स्टन्टको रुपमा ल्याइएको बताए ।
उनले बाँसबारी जग्गा प्रकरणलाई जबरजस्त राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।
‘४२ वर्षअगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टरसिपको उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःख लाग्दो छ’ बयान दिएर बाहिरिँदै गर्दा चौधरीले भने ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhary3.png)
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले विनोदका भाइसमेत रहेका उद्योगी अरुण चौधरी पक्राउ परेका थिए । च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।
अदालतले उनीहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
नयाँ सत्तासमीकरण फेरिएपछि गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारीको जग्गा सरकार मातहत ल्याउने प्रकृया थाल्ने निर्देशन दिएका थिए । त्यसै दिन प्रहरीले उद्योगी एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग वयान लिने तयारी गरेको जनाएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhary1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhary.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhari1-1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhari-1.png)
SHARE YOUR THOUGHTS