चेम्बरका अध्यक्ष बने अग्रवाल, भन्छन्ः व्यवसायीको खस्किएको मनोवल उकास्न पैरवी गर्छु « Eglish Khabarhub

चेम्बरका अध्यक्ष बने अग्रवाल, भन्छन्ः व्यवसायीको खस्किएको मनोवल उकास्न पैरवी गर्छु



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको ७३ औं वार्षिक साधारणसभाले अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् ।

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भए ।

७३ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

चेम्बरको अध्यक्ष बनेका अग्रवालले देशमा व्याप्त आर्थिक सिथिलता अन्त्य गर्न प्रयास गर्ने बताए । क्लिकमान्डुसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘व्यवसायीको खस्किएको मनोवल उकास्न तथा लगानीमैत्री वातावरण बनाउन पैरवी गर्नेछु । यसैगरी पछिल्लो समय व्यवसायीहरू कालोसूचिमा परिरहनु भएको छ । यो स्थिति कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक कदम चाल्न पहल गर्नेछु ।’

Publish on: