![](https://internal.appharu.com/wp-content/uploads/2019/05/noc-tanker-petrol-oil-tanker.jpg)
काठमाडौं । पेट्रोलियम क्षेत्रमा कार्यरत दुई संस्थाले संयुक्त रुपमा नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले संयुक्त बैठक बसेर निगमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् । ति दुवै संस्थाले निगमले आफूहरुको माग पूरा नगरे आन्दोलनमा जाने निर्णय गरेका छन् ।
निगमले सम्झौता गरेर पनि उक्त सम्झौतालाई कार्यान्वयनमा नल्याएको भन्दै उनीहरुले आन्दोलन गर्ने तयारीमा जुटेका छन् । केही बर्षअघि पेट्रोल पम्प व्यवसायीको कमिशन पुरानै व्यवस्थाअनुसार उपलब्ध गराउने बिषयमा निगमले सम्झौता गरेको थियो । तर निगमले उक्त सम्झौता हालसम्म कार्यान्वयनमा नल्याएको महासंघका एक अधिकारीले बताए ।
निगमले पाँच वर्षअघि पेट्रोल पम्प नियमन गर्न साधारण बिक्रेता विनियावली २०७५ जारि गरेको थियो । उक्त विनियावलीले पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत प्रतिलिटर कमिसन उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा निगमले पनि त्यो वेला नोक्सानी व्यहोरेको थियो । निगमले घाटा व्यहोर्दै गर्दा पम्प सञ्चालकले भने भने प्रतिलिटर ६ रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका थिए । तत्कालिन समयमा निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पम्प सञ्चालकले पाउँदै आएको उक्त कमिसन दर कटौती गर्ने निर्णय गरेका थिए ।
यो निर्णयपछि पम्प सञ्चालकले पेट्रोलमा २.८७ प्रतिशत र डिजेलमा २.३९ प्रतिशतका दरले मात्रै कमिसन पाउन थालेका थिए । निगमको घाटा कम हुनासाथ विनियमावलीले तोकेअनुसारको कमिसन दर लागू गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयनमा नआएको भन्दै व्यवसायी आन्दोलित हुन लागेका हुन् ।
SHARE YOUR THOUGHTS