१४ अर्ब खर्चेर ताल-तलैया पर्यटन आयोजना बनाउने सरकारको तयारी, लगानीकर्ता खोज्दै « Eglish Khabarhub

१४ अर्ब खर्चेर ताल-तलैया पर्यटन आयोजना बनाउने सरकारको तयारी, लगानीकर्ता खोज्दै



काठमाडौं । सरकारले यही वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । उक्त सम्मेलनमा सरकार र निजी क्षेत्रका व्यवसायीहरुका अर्बौं रुपैयाँको आयोजना शोकेसमा राखिएको छ ।

लगानी सम्मेलनमार्फत् स्वदेशी/ विदेशी लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यसहित १५२ वटा आयोजना शोकेसमा राखिएको छ।

लगानी सम्मेलनमा सरकारले १४ अर्ब रुपैयाँ लागतको ताल-तलैया वहुउद्देश्यीय पर्यटन आयोजना शोकेसमा समावेश गरिएको छ ।

लगानी बोर्डकाअनुसार ताल-तलैया बहुउद्देश्यीय पर्यटन आयोजना निर्माण गर्न १३ अर्ब ९० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

ताल-तलैया पूर्वी नेपालको सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य हो । उक्त क्षेत्र प्राकृतिक पोखरी, हरियाली परिदृश्य, नदीहरू र शान्त सिमसार क्षेत्रका लागि प्रसिद्ध छ ।

लगानी सम्मेलनमा शोकेसमा राखेको ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजनाबाट तालतलैया र हसिना सिमसार क्षेत्रको एकीकृत विकास गरी सिमसार क्षेत्रको संरक्षण हुने अपेक्षा गरेको छ । आयोजनाबाट बहुउद्देश्यीय पर्यटन उत्पादनको विकास गरी प्रकृतिमा आधारित पर्यटन, माइस (सभा सम्मेलन गोष्ठी र सेमिनार) पर्यटन, शिक्षा पर्यटन, मनोरञ्जन पर्यटन र खेलकुद पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

कोशी प्रदेशमा रहेको ताल-तलैया ४६९.८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हसिना सिमसार ५२.७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी ताल-तलैया र हसिना सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सरकारको लक्ष्य छ ।

त्यसैगरी आयोजनाले एकीकृत सिमसार विकासमार्फत् वन र वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्ने, स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सांस्कृतिक गाउँको विकास गर्ने र विभिन्न क्षेत्रमा पहुँच सुधार गर्ने योजना छ ।

परियोजनाअन्तर्गत वाटरपार्क, बोटिङ, कन्भेन्सन हल, प्रदर्शनी हल, होटल तथा क्यासिनो, प्रशासनिक क्षेत्र, रिसर्च सेन्टर, स्पोर्टस् कम्प्लेक्स, साइन्स सिटी, मल्टीस्टोरे पार्किङ, म्यूजियम र फुड कोर्टको सुविधा हुनेछ । त्यसैगरी सरकारले रिक्रियसनल पर्यटन, पिकनिक स्पट, सेन्ट्रल प्लाजा फर रिक्रियसन, बोटानिकल गार्डेन, जातीय गाउँ, रिट्रीट सेन्टर, शिव पार्क, खुला चिडियाखाना, स्काई वाल्किङ टावर, जनावर फार्म, मिनिमल इन्टरभेन्सन एरिया, वाटर रिचार्झ पोन्ड र डेन्से फरेष्टको सुविधा हुने जनाएको छ।

परियोजना निर्माण भएमा पर्यटकको आगमन बढ्ने, रोजगारी सिर्जना हुने, साँस्कृतिक प्रबर्द्धन हुने र पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ । सरकारको शोकेसमा परेको आयोजना निर्माण सम्पन्न भएमा उक्त परियोजनाको कुल पुँजी ३१ अर्ब ६० करोड रुपैयाँ पुग्ने लगानी बोर्डको अनुमान छ । हाल उक्त आयोजनाको कुल पूँजी ७ अर्ब ८० करोड रुपैयाँ छ ।

सरकारले यस आयोजनाको सन् २०२२ मा पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । हाल आयोजनाको सम्भाव्यता अध्ययन सकेर आयोजना विकासको चरणमा पुगेको छ । सरकारले सम्भाव्यात अध्ययन गरेर लगानी सम्मेलनमा शोकेसमा राखेको आयोजनाका लागि लगानीकर्ता खोजिरहेको हो ।

Publish on: