आज राष्ट्रिय चिया दिवसः ४ अर्बको डेढ करोड किलो चिया निर्यात « Eglish Khabarhub

आज राष्ट्रिय चिया दिवसः ४ अर्बको डेढ करोड किलो चिया निर्यात



काठमाडौं । गत् आर्थिक बर्षमा नेपालबाट झण्डै ४ अर्ब रुपैयाँको चिया निर्यात भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार सार्वजनिक गरेको तथ्याँक अनुसार गत् आर्थिक बर्ष २०७९/८० मा नेपालबाट ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँबराबरको १ करोड ६५ लाख ९४ हजार किलो चिया निर्यात गरेको छ । पछिल्लो ६ बर्षको अवधीमा गत् आर्थिक बर्षमा मूल्य र परिमाणको हिसावले सबैभन्दा बढी चिया नेपालबाट निर्यात भएको हो ।

बोर्डले शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी २८ औँ राष्ट्रिय चिया दिवस मनाउँदै छ ।

चालु आर्थिक बर्षमा भने चियाको निर्यात दर घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को चैतसम्ममा भने २ अर्ब ५४ करोड १८ लाख रुपैयाँको १ करोड १ लाख ७८ हजार किलो निर्यात भएको थियो ।

नेपालमा २० हजार २ सय ३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । यसबाट २ करोड ६४ लाख किलो तयारी चिया उत्पादन भएको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत भारतमा निर्यात भएको हो ।

भारतिय बजार नेपाली चियाको लागि सबैभन्दा ठूलो बजार मानिन्छ । भारत सरकारले आयात सम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो समस्या सिर्जना हुने गरेको बोर्डले जनाएको छ ।

यो बर्ष ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ नाराका साथ दिवस मनाइदैंछ ।

नेपालको निर्यातजन्य केहि सिमित कृषिजन्य बालीमध्ये चिया अग्रस्थानमा पर्छ । नेपालको चिया क्षेत्रले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रुपमा आफुलाई उभ्याउन सफल भएको बोर्डको भनाई छ ।

निर्यातमा भारतीय पक्षको तगारो समस्या

केही साताअघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो ।

सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू तथा व्यवसायीहरूको संयूक्त पहलमा तत्कालका लागि भारतिय अवरोध हटेका कारण ती १७ वटा ट्रक छुटेका छन् । तर विगतमा पनि भारतिय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिने अवस्था नरहेको बोर्डले जनाएको छ ।

‘नेपाली चियाको गुणस्तर र विषादीका अवशेषलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतिय पक्षबाट नियमित रुपमा हुने गरेको छ,’ बोर्डले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ, ‘तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ ।’

विश्वमै नेपाली चिया उत्कृष्ट
गत मार्च २४ देखि २६ मा संयूक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न वल्र्ड टी एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरेज च्यालेन्जतर्फ ग्राण्ड च्याम्पियनको रुपमा पुरस्कृत भएको थियो ।

विगतका वर्षहरूमा पनि चीनमा भएको टी च्याम्पियनसीपमा नेपाली चिया उत्पादकहरूले ग्राण्ड गोल्ड मेडल जितेका यथेस्ट उदाहरणहरू भएका कारण भारतिय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको बोर्डको भनाई छ ।

यस्ता समस्यालाई दिगोरुपमा समाधान गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको प्रयोगशालालाई प्रभावकारी र आधुनिक सुविधा सम्पन्न बनाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको एक्रिडिएसन गर्न आवश्यक रहेको बोर्डले औल्याएको छ ।

भारतीय बजारको विकल्प खोज्नुपर्ने आवश्यकता
नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतिय बजारको विकल्प खोज्न ढिलो नगर्न बोर्डले बताएको छ ।

चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना छ ।

यसका लागि चिया उत्पादक संघसंस्थाहरू, निजी तथा सहकारी क्षेत्र एकजुट हुन आवश्यक रहेको बोर्ड सुझावसमेत दिएको छ ।

Publish on: