
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ ।
विभागको अभिलेख सच्याएर नक्कली लाइसेन्स जारी गर्ने कार्यमा संलग्न भएको अभियोगमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।
देशभरका यातायात कार्यालयबाट पछिल्लो ५ वर्षको अवधीमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।
शनिबार राति पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागमा करारमा कार्यरत थिए । गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।
उक्त अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको पाइएको थियो ।
अध्ययनको क्रममा प्रदेश सरकार अन्तर्गतको यातायात कार्यालयबाट समेत अनियमितता भएको पाइएको थियो । अनियमितता गरि तयार पारेर वितरणको क्रममा रहेको २३ हजार लाइसेन्स समेत विभागले रोक लगाएको थियो ।
अध्ययनको क्रममा देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका इञ्जिनियर भट्टको मिलेमतो भएको छानविनको क्रममा भेटिएको थियो ।
SHARE YOUR THOUGHTS