काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाहमा नि:शुल्क शव जलाउने घोषणा गरेका हुन् ।
अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।
डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । ‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धानका लागि अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो । सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ,’ उनले भने ।
विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएपछि उनले कार्यभार ग्रहण गरेका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार कोषका सदस्य सचिव डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दाखसुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
SHARE YOUR THOUGHTS