प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः गोविन्द केसी « Eglish Khabarhub

प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः गोविन्द केसी



काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । सशस्त्रद्वन्द्व कालमा जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने केसीले तर्क गरे ।

काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्ने उनले बताए । द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको बिरोध नगरेकोमा उनले आक्रोश पोखे।

‘अपराधीहरु प्रधानमन्त्री, मन्त्री बन्ने ? मैले भनि हाले नि–त्यस्तो हुन सक्दैन । उनले राजीनामा दिनुपर्छ । राजीनामा दिएर यो संक्रमणकालिन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्छ,’ उनले भने ।

निर्दोष भए प्रचण्डले प्रधानमन्त्री बन्ने कुरामा कुनै आपत्ति नरहेको उनले बताए ।

‘अभियुक्त भएर देश चलाउन सक्दैन, देश चलाउन पाउँदैन । त्यसमा कुनै अधिकार पनि छैन । नैतिक अधिकार पनि छैन । उसले राजीनामा दिनु र्छ । अब प्रधानमन्त्री नै जघन्य अपराधको अभियुक्त छन् भने मैले मात्रै होइन, यसमा सबैले किन बोलेनन् ?’ उनले भने ।

कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डको बिरोध गर्दै अनशन नबसेका डा केसी कांग्रेससँग प्रचण्डले सहकार्य तोडेर एमाले, रास्वपा लगायतका दलसँग गठबन्धन गरेसँगै आमरण अनशनमा बसेका हुन् ।

केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

Publish on: