![](https://internal.appharu.com/wp-content/uploads/2024/05/upendra-yadhav1-768x403.png)
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमवार सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए ।
जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको उनले आरोप लगाए ।
सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले आफूहरुको पार्टी विभाजनमा भूमिका खेलेको र त्यसविरुद्ध आफूहरु लाग्ने उनले बताए ।
‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चाद राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौं,’ उनले भने ।
जसपा नेपाल विभाजनमा स्वयं प्रधानमन्त्रीले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित नभएको उनको दाबी छ ।
SHARE YOUR THOUGHTS