सहकारी प्रकरण: छानबिन समितिको टिओआर टुंग्याउन कार्यदलको बैठक, रविमाथि छानबिन होला कि नहोला ?

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउन गठित कार्यदलको बैठक बसिरहेको छ ।

आइतबार बिहानबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ बालुवाटारमा बोलाएको चार दलको बैठकले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने समझदारी गरेको थियो ।

कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सदस्य रहने गरि कार्यदल बनेको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।