छानबिन समितिको टिओआर टुंग्याउन कार्यदलको बैठक बस्दै, रविमाथि छानबिन होला ? « Eglish Khabarhub

छानबिन समितिको टिओआर टुंग्याउन कार्यदलको बैठक बस्दै, रविमाथि छानबिन होला ?



काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ ।

कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज बिहान ९ बजेदेखि बस्ने छ ।

कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सदस्य रहने गरि कार्यदल बनेको थियो।

गत शनिबार प्रमुख दलहरुबीच सहकारी ठगीका विषयमा अध्ययन गर्न संसदीय समिति गठनको सहमति भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन हुनु पर्ने माग गर्दै कांग्रेसले संसदमा बिरोध गर्दै आएको छ ।

शनिबार समिति गठन भए पनि त्यसको कार्यादेशबारे दलहरुबीच कुरा मिल्न सकेको छैन ।

आइतबार टीओआर टुंग्याउन दलहरु छलफलमा जुटे पनि सहमति हुन सकेन । सोमबार कार्यादेश बनाउने समितिको बैठक बस्न सकेन । सोमबारै प्रधानमन्त्रीले प्रतिपक्षीको बिरोधका बाबजुद विश्वासको मत लिएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री लामिछानेको नामै तोकेर छानबिन समिति बनाउनु पर्ने अडान राखेको छ भने सत्तारुढ दलहरुले सूर्यदर्शन लगायतका सहकारीको नाम लेख्ने तर लामिछानेको नलेख्ने अडान लिदा यसअघि कार्यादेशबारे सहमति जुट्न सकेको थिएन ।

समिति बनाउने सहमति भएसँगै आइतबार गृहमन्त्री लामिछानेले संसद्मा संवोधन गरिसकेका छन् ।

Publish on: