![](https://internal.appharu.com/wp-content/uploads/2024/05/pubudu.png)
काठमाडौं । आईसीसी टी–२० विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहँदा क्यानडाले प्रमुख प्रशिक्षक पुबुद दासानायकेलाई बर्खास्त गरेको छ ।
जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकप हुँदैछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले केही खेलाडीहरूले लिखित असन्तुष्टि व्यक्त गरेपछि क्यानडा क्रिकेट बोर्डले दासानायकेलाई बर्खास्त गरेको उल्लेख गरेका छन् ।
पुबुदुकै प्रशिक्षणमा क्यानडाले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तिदेखि टी-२० विश्वकपमा छनोटसम्मको उपलब्धि हासिल गरेको थियो ।
पुबुदु सन् २०२२ को जुलाईदेखि क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदमा कार्यरत थिए । श्रीलंका र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको रुपमा लामो समय रहेका थिए । उनी दुई चरण नेपाली टोलीको प्रशिक्षक बनेका थिए ।
प्रशिक्षकको भूमिकामा क्यानडामा पनि यो उनको दोस्रो कार्यकाल हो भने उनले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
क्यानडा संघमा नयाँ नेतृत्व आएपछि प्रशिक्षकको विषयलाई लिएर पदाधिकारीबीच विवाद भएको जनाइएको छ।
क्रिकेट क्यानडाका उपाध्यक्ष गुरदीप क्लेयरले बुधबार नै पुबुदुलाई यस विषयमा जानकारी गराएका थिए । विश्वकपका लागि टोली छनोटको विषयलाई लिएर प्रशिक्षक र क्रिकेट क्यानडाका पदाधिकारीबिच विवाद भएको जनाइएको छ ।
SHARE YOUR THOUGHTS