काठमाडौं । बर्खा सुरु हुन लागेसँगै ऊर्जा प्रवर्द्धकहरु बिजुली खेर जाने समस्याले चिन्तित देखिन थालेका छन् ।
गत वर्ष प्राधिकरणले प्रसारणलाइनको समस्या देखाएर बिजुली नकिन्दा ५०० मेगावाट खेर गएको थियो । २७ आयोजनाको बिजुली नकिनिदिएका कारण ऊर्जा प्रवर्द्धकहरुले १ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नु परेको थियो ।
यो वर्ष पनि प्रसारणलाइन नबेनका कारण उस्तै समस्या दोहोरिने भएको छ । उत्पादन बढेका कारण थप बिजुली खेर जादा ऊर्जा प्रवर्द्धकको थप क्षति हुने भएको छ ।
स्वतन्त्त ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले यो वर्ष पनि बिजुली खेर जाने अवस्था रहेको बताए । उत्पादन बढेकाले यो वर्ष गत वर्षभन्दा धेरै बिजुली खेर जाने उनको भनाइ छ ।
लोड नभएको भन्दै नेपाल विद्युत प्राधिकरणको भार प्रषेण केन्द्रबाट पावर हाउस बन्द गर्न लगाउने गरिन्छ । जसका कारण ऊर्जा उत्पादकहरुले कम क्षमतामा बाध्य भएर पावर हाउस सञ्चालन गर्दै आएका छन् ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतमा सीमित हुने भएपनि बर्खामा फुल फ्लेज हुन्छ । मुलुकको जडितम क्षमता करिब ३२०० मेगावाट पुगेको छ । एक महिनाभित्रै करिब ३०० मेगावाट प्रणालीमा थपिँदैछ ।
आन्तरिक खपत करिब १६/१७०० मेगावाट मात्रै छ । भारतमा अधिकतमा ८०० मेगावाटसम्म मात्रै निर्यात हुने सम्भावना छ । यस हिसाबले १००० मेगावाट सरप्लस हुने अवस्था छ । प्राधिकरणले बर्खामा सरप्लस हुने करिब ८०० मेगावाट बिजुली भारत पठाउन स्वीकृत पाएको छ साउनदेखि करिब ४० मेगावाट बंगलादेश पठाउने तयारीमा सरकार छ ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले १००० मेगावाटका बढी खेर जाने अवस्था रहेको बताए । ‘१००० मेगावाट खेर गयो भने प्रवर्द्धकहरुले ठूलो नोक्सानी व्यहोर्नुपर्छ । बैंकको साँवा र ब्याज नै तिर्न सक्दैनन्,’ उनले भने, ‘प्राधिकरणले सम्झौता अनुसार किन्नै पर्छ ।’
इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सरकारले उत्पादनसँगै खपतको योजना नबनाएका कारण यस्तो समस्या आएको बताए । उनले खपतको योजना बनाएर कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए ।
SHARE YOUR THOUGHTS