![](https://internal.appharu.com/wp-content/uploads/2023/12/Milk-kisan-768x403.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार बिहान वक्यौता रकम माग गर्दै काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद सिंहले उनीहरुलाई तत्काल रिहा गर्न पनि सरकारलाई दवाव दिए ।
बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त मन्त्रालयको बजेट न्युन रहेको भन्दै आपत्ति जनाए ।
‘सर्वप्रथम त म दुध किसानहरुलाई सरकारले दमन गरेर, पक्राउ गरेर राखेका छन् । उनीहरुलाई तुरुन्त रिहा गरी उनीहरुको बाँकि रकम चाँडोभन्दा चाँडो उपलब्ध गराई दिनका लागि म सरकारलाई अनुरोध गर्न चाहन्छु । नेपालीहरुलाई विश्वभर चिनाउने खेलकुद नै हो । नेपालीहरुलाई पनि एकतावद्ध बनाएर राख्ने खेल नै हो । आज विदेशमा पनि हजारौं नेपालीहरुले नेपाली खेल हेर्नका लागि हजारौंको संख्यामा गएको हामीले देखेका छौं । आज यो देशमा राष्ट्रियताका लागि केही चिज बाँकि छ भने त्यो भनेको खेलकुदनै हो । सरकारले यो खेलकुद मन्त्रालयलाई जुन बजेट ल्यायो । त्यो नगन्य छ’ उनले भने ।
सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।
‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । तर, प्रहरीहरुले धरपकड गरे । ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ,’ बर्तौलाले भने ।
आन्दोलनरत किसानसँग वार्ता गर्न र अविलम्ब किसानहरूको भुक्तानीका लागि उनले सरकारको ध्यानाकर्षण गरे ।
६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु । दूध किसानको भुत्तानी गरियोस्,’ उनले भने ।
SHARE YOUR THOUGHTS