दलहरुबीच छलफलमा तीव्रता: प्रचण्डको सरकार ढल्न लागेको हो ? « Eglish Khabarhub

दलहरुबीच छलफलमा तीव्रता: प्रचण्डको सरकार ढल्न लागेको हो ?


१८ असार २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग संसदीय अंकगणितको ‘जादुयी नम्बर’ भएकाले पूरै अवधि (५ वर्ष) नै सरकारमा बस्ने अवस्था रहेको बताएको साता नबित्दै सरकार ‘धरमराएको’ नेताहरुले दाबी गरेका छन् ।

‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन,’ प्रचण्डले भनेका थिए, ‘मैले जे देखेको छु सबै परिस्थिति, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन ।’

प्रचण्डले आफूलाई हटाउन सजिलो छैन भनेर भाषण गरिरहँदा दुई ठूला दलमा भने उनलाई हटाउने ‘गृहकार्य’ सुरु भएको देखिएको छ ।

असार १५ मा अधिकांश दही चिउरा र रोपाइँका गतिविधिमा रमाइरहँदा सत्ता गठबन्धनको मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास बालकोटमा अरुनै केही पाकिरहेको थियो ।

बालकोटको ‘बार्दली’ मा सत्तारुढ एमाले अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन घण्टा लामो छलफल गरे ।

नेताहरुबीचको सामान्य छलफल भनिएको भए पनि तीन घण्टा लामो छलफलमा राजनीतिक कोर्स परिवर्तनबारे छलफल भएको कांग्रेस एमालेका उच्च तहका नेताहरुको दाबी छ ।

देउवा ओलीबीचको भेटवार्तापछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भइरहेको छ ।

माओवादीको जादुयी नम्बरको वरिपरी घुमिरहेका कांग्रेस र एमालेलाई दुई दल मिलेर सत्ता चलाउन र देशलाई समृद्धिको यात्रामा अघि बढ्न सुझाव आइरहेको छ।

नेपाली कांग्रेससँगको सहकार्य छाडेर एमालेसँगको प्रधानमन्त्री प्रचण्डले यात्रा तय गरेपछि नै दुई ठूला दल मिल्नु पर्ने आवाज सदनदेखि विभिन्न मञ्चमा उठिरहेको थियो र दोस्रो तहका नेताहरुले यसका लागि विभिन्न प्रस्तावहरुमाथि छलफल अघि बढाइरहेका थिए ।

‘सदनमा सानो संख्या भए पनि माओवादीले कांग्रेस र एमालेलाई फनफनी घुमाइरहेको छ,’ कांग्रेस उच्च स्रोतले भन्यो, ‘यसले गर्दा सरकारले राम्रो डेलिभर गर्न नसक्ने र नागरिकको अवस्था सुध्रिने हुँदैन । त्यसैले हामीले दुई ठूला दल मिलेर अघि बढ्नु पर्छ भनेर छलफल अघि बढाइरहेका थियौं । त्यो साकार हुने बाटोमा छ ।’

एमालेका उच्च तहका नेताहरुले पनि कांग्रेस नेताको भनाइलाई अस्वीकार गरेनन् । ‘सरकारमा हामी पनि छौं । तर सोचेजस्तो काम हुन सकिरहेको छैन,’ एमालेका एक नेताले भने, ‘दुई ठूला दल मिल्दा देश विकास हुन्छ र च्याख्ये थाप्ने सिलसिला बन्द हुन्छ भन्ने हो ।’

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दुई दलीय प्रतिस्पर्धा हुनु पर्ने धारणा राख्दै आएका छन् । यसअघिको निर्वाचनमा कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई साथ दिँदा उनीहरु अहिले बार्गेनिङ गरेर सत्ताको ‘रजगज’मा पुगेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसैले दुई दल मिलेर अघि बढ्नु पर्नेमा दुवै दल सहमत छन् ।

कांग्रेसका नेता दीपक गिरीले देउवा र ओलीबीचमा पछिल्लो समय भइरहेको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताए ।

‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ,’ उनले भने, ‘लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ । यसबाट कोही चिन्तित हुनु पर्दैन ।’

प्रचण्ड-ओली र देउवा-ओलीबीचको एक्लाएक्लै वार्ता

शनिबार बालकोट पुगेर देउवाले ओलीसँग छलफल गरेयता आइतबार प्रचण्ड र ओलीबीच पहिलो चरणमा एक्ला एक्लै छलफल भएको छ । उनीहरुको छलफल जारी रहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

ओली प्रचण्ड र ओली देउवाबीचका एक्ला एक्लै छलफलमा भएका विवरणहरुबारे नेताहरुले केही बताएका छैनन् । तर पार्टीका निकटहरुसँगको छलफलमा उनीहरुले परिवर्तनको संकेत गरिरहेका स्रोतको दाबी छ।

आइतबार ओली प्रचण्डबीचको छलफलपछि राति देउवा र ओलीबीच पुन छलफल भएको थियो । तर त्यसबारे समाचारहरु भने सार्वजनिक भएका छैनन् ।

सोमबार(आज) ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टा एक्ला एक्लै वार्ता गरे ।

सरकार सञ्चालन, टीआरसी लगायतका विषयमा छलफल केन्द्रीत रहेको भन्दै सचिवलायले जानकारी दिए पनि तीन घण्टा लामो छलफल महत्वपूर्ण विषयमा केन्द्रीत रहेको सहज अनुमान गर्न सकिने दोस्रो तहका नेताहरुको भनाइ छ ।

कस्तो सहमति ?

कांग्रेस स्रोतका अनुसार संविधान संशोधनका विषयमा एमालेसँग छलफल भइरहेको छ । त्यसमा दुई दल सहमत रहेको र एक दुई दिनमै यसको परिणाम देखिने छ ।

संविधान संशोधन गरि प्रदेशलाई चुस्त बनाउने र संघीय सरकारमा मन्त्रालय घटाउने विषयमा पनि एमाले र कांग्रेसबीच छलफल चलिरहेको स्रोतको भनाइ छ ।

‘राजनीतिक प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने विषयमा कुरा मिलेको छ’ स्रोतले भन्यो, ‘शासकीय स्वरुप, प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा विभिन्न विकल्पबारे छलफल भएको छ ।’

प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने व्यवस्थालाई हटाएर प्रत्यक्षबाट निर्वाचित हुनेमा नै समानुपातिक सहभागीता सुनिश्चित गराउने, संघमा र प्रदेशमा मन्त्रालयको संख्या घटाउने गरि संविधान संशोधन गर्ने र पालिकाको संख्या कम गर्ने गरी कानुन संशोधन गर्ने गरि दुई दलबीच छलफल अन्तिम चरणमा पुगेको नेताहरुको दाबी छ ।

‘लगभग कुरा मिलिसकेको अवस्था छ’ उच्च स्रोतले भन्यो, ‘ड्राफहरु पनि बनिरहेका छन् । त्यसमा उच्च तहका नेताले छलफल गरिरहनु भएको छ ।’

कांग्रेस एमाले मिलेर संविधान संशोधनमा अघि बढ्न सक्ने भए पनि उनीहरुले अन्य मधेशवादीसहितका दलहरुलाई पनि साथ लैजान खोजेका छन् ।

‘संविधान संशोधनमा सकेसम्म धेरैको सहमति जुटाउने गरि अघि बढ्ने गरि छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि क्षेत्रीय दलहरुसँग पनि कुराकानी हुन्छ ।’

देउवा र प्रचण्डबीच आज पुन छलफल हुने र त्यसबाट एउटा निचोड निस्कने दाबी स्रोतको छ ।

कसको नेतृत्व ?

नेताहरुका अनुसार प्रचण्ड नेतृत्वको सरकार अघि नबढ्ने लगभग तय भए पनि आगामी सरकारको नेतृत्व कसको हुने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

‘पहिला मूल मुद्दाहरुमा कुरा मिलेपछि अन्य कुराहरु हुन्छन्,’ स्रोतले भन्यो, ‘दुई पार्टी मिल्दा देउवा र ओली जो भए पनि त्यसलाई स्वीकार गर्न पार्टीहरु तयार हुन्छन् भन्ने बुझाइ छ ।’

तर, यसबीचमा प्रचण्ड पनि चुप लागेर बस्ने छैनन् । उनको ‘मुभ’ले पनि धेरै कुरालाई प्रभावित पार्न सक्ने नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड निकटका माओवादी केन्द्रका नेता माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने दाबी गरे ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुको भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुन लागेको भन्दै हल्ला चलाइएको उनको भनाइ छ । नेताहरु भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने सापकोटाको भनाइ छ ।

‘दुई दिनका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुने बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउँछ भन्ने लाग्दैन,’ सापकोटाले भने ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार ००:००  २ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping