महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट « Eglish Khabarhub

महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट

महासेठ भन्छन्- बजेट तथा कार्यक्रम कर्मचारीले बनाए


२१ असार २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ ल्याइएको बजेटको बिषयमा असार ४ गते प्रतिनिधि सभामा सांसदहरुले छलफल गर्दै थिए । छलफलकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले उक्त मन्त्रालयकोे बजेटप्रति असन्तुष्टि जनाउँदै बैठकमै बजेट पुस्तिका च्याते ।

बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै अर्बौंको बजेट विनियोजन गरेकोप्रति विरोध गर्दै बजेट पुस्तिका च्यातेका थिए ।

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ । रिस उठ्छ कहिलेकाहीं तर एक छिनपछि सेलाउने र मन बुझाउने ठान्छु,’ उनले भने, ‘तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्‍‍याउन मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु ।’

सामान्य मर्यादासमेत नराखी राज्यस्रोत माथि गरिएको मनपरी सहन नसक्ने बताउदै उनले थप भने, ‘यहाँ जिल्लाको नाम छाप्दा धेरै देखिन्छ भनेर जिल्लाको नामै नराखी योजना राखिएको छ ।’ कसैको निर्वाचन क्षेत्रमा एउटै योजना नराख्ने र कसैकोमा अर्बौंको योजना राख्नुपर्ने कारण, विधि र पद्धतिबारे जानकारी दिनसमेत लिङ्देनले माग गरेका थिए ।

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदले टेबुल ठोकेर समर्थन गरेका थिए । भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि भौतिक पूर्वाधारतर्फ ल्याएको बजेटप्रति बिपक्षी दल राप्रपाजस्तै कांग्रेसले पनि चर्को बिरोध जनाएको थियो ।

बजेटमा बिरोध बिपक्षी कांग्रेसबाट मात्र नभएर सत्तारुढ दल नेकपा एमालेको तर्फबाट पनि आएको थियो । कारण थियो, आगामी आर्थिक बर्षको भौतिक पूर्वाधारसम्बन्धी अधिकांश आयोजना महासेठ परिवारकै ‘इन्ट्रेस्ट’ मा ल्याइएको थियो ।

महासेठ आवद्ध नेकपा एमालेकै सांसद सूर्य थापाले सडक आयोजनामा मन्त्री महासेठ र उनको परिबारको हालिमुहालीबारे सामाजिक सञ्जालमा मुख खोल्न नै बाध्य भए ।

‘मेरो निवेदनमा यो तोक र नक्सा दुबैं मा.रघुबीर महासेठको हस्तलिखित, रेखाँकन र हस्ताक्षरमा लेखिएको हो । बजेट धनुषा र सिराहाका पारिवारिक क्षेत्रमा हाल्न यस्तो नाटक किन गर्नुभएको महोदय ? गत बर्षदेखि यो बाटोमा १ करोड बजेटसहित डबल लेनको कार्यक्रम समेटिएको थियो,’ महासेठको मनपरी बारे असन्तुष्टि जनाउँदै उनले असार १० गते सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन, ‘यसपाली पाँच पैसा थप्नुभएन । भालुबाङ–चकचके गत वर्ष ३.७५ करोड बजेट थियो, तर यसपालि ४ करोड रहेको छ । यसनिम्ति मन्त्री र सचिब नभएर सडक विभागको नेतृत्वलाई धन्यवाद छ ।’

सडक आयोजना प्राथमिकीकरण र छनौटमा भौतिक मन्त्री महासेठको हालिमुहाली र बदनियतको बिषयमा सडकदेखि सदनसम्म चर्को टिकाटिप्पणी भयो । यसले गर्दा मन्त्रालयले लामो समयसम्म आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम (रेड बुक) नै लुकाएर राख्न बाध्य भयो ।

अधिकांश मन्त्रालयले बजेट आए लगत्तै बार्षिक पुस्तिका आफ्नो आधिकारिक बेबसाइडमा राख्नुका साथै मन्त्रालयमा पर्याप्त संख्या पुस्तक छापेर आवश्यक परेकालाई वितरण गरेका थिए । तर भौतिक पूर्वाधार मन्त्रालयले उक्त पुस्तिकासमेत लुकाएर राखेका थिए । असार १६ पछि बल्ल उक्त पुस्तिका बाहिर ल्याइएको थियो भने आधिकारिक बेबसाइटमा पनि राखिएको थियो ।

मन्त्री महासेठप्रति सांसद लिङ्देन र थापाले लगाएको आरोप मिथ्या छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बार्षिक पुस्तिका हेर्दा मन्त्री महासेठ, उनको सांसद पत्नी जुली महतो, आफ्नै साढु दाई उपेन्द्र महतो र बीरेन्द्र महतोसम्मको ‘इन्टे«स्ट’ को आधारमा अधिकाँश सडकसम्बन्धी आयोजना ल्याइएको पुष्टि हुन्छ ।

आर्थिक, सामाजिक र सामरिक महत्वको आधारमा सडक योजनाहरु छनौट गर्नुपर्नेमा महासेठको परिबार र ससुराली पक्षले ‘इच्छाएका’, ‘रुचाएका’ र गोजीबाट निकालिएका ‘वीस लिस्ट’ योजनाहरु अत्यधिक परेका छन् ।

महासेठले यस्ता योजनाको भरमा गुणस्तरीय पूर्वाधार निर्माण गर्न नसके पनि कार्यकर्तालाई रिझाउनका लागि सडकसम्बन्धी कार्यक्रम आफनो गृह जिल्ला र ससुराली जिल्लाको खास स्थानमा लगेका हुन् । महासेठ आफै, पत्नी महतो र साढु दाईहरु उपेन्द्र र बीरेन्द्रका आसेपासेलाई रिझाइराख्न पनि योजनाहरु प्राथमिकतामा पारेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयको जिम्मेवार सम्हाल्ने मन्त्रीको प्रभावमा केही महत्वपूर्ण कार्यक्रम ल्याइएपनि यो पटक भने अचाक्ली संख्यामा आवश्यकता नै नभएको योजना समावेश गरि बजेट छर्ने गरी काम भएको छ ।

‘हेर्नुस, योजनाहरु छनौट हुँदा विभागीय मन्त्रीहरुको प्रभावमा केही कार्यक्रम नआउने होइन, बिगतमा पनि आएका छन्,’ मन्त्रालयका अधिकारीले भने,‘तर यो पटक अचाक्ली नै भएको छ, जहाँ महत्वपूर्ण थियो, त्यहाँ बजेट दिइएको छैन । जहाँ तत्कालै आवश्यकता थिएन, त्यहा अत्यन्तै धेरै संख्यामा कार्यक्रम छनौट गरि लगिएको छ । फेरी यो कार्यक्रमवापत बिनियोजन भएको बजेटले भने अनुसार सडक निर्माण पनि हुने होइन । उही प्रक्रिया मिलाएर खाल्डो पुर्नेपार्ने गरी बजेट सकाउने मात्रै हो ।’

उनका अनुसार तराईमा सामान्य गुणस्तरको कालोपत्रे सडक निर्माण गर्दा प्रतिकिलोमिटर २ देखि ४ करोड लागत खर्च पर्छ । यस्तै पहाडी भेगमा निर्माण गर्दा ५ करोडसम्म खर्च पर्छ ।

‘बार्षिक पुस्तिका विश्लेषण गर्नु हुन्छ भने एउटा खास जिल्लामा १ करोड बजेट भएको अधिकाँश कार्यक्रम परेका छन्,’ ति अधिकारीले भने,‘त्यो एक करोड रुपैयाँले एक किलोमिटर सडक पनि कालोपत्रे गर्न पुग्दैन । सोझो रुपमा भन्ने हो भने बजेटको चरम दुरुपयोग गरिएको छ । बरु यस्ता बजेट एक मुष्ट गरेर अति महत्वपूर्ण योजनामा लगाइएको भए कम्तिमा निर्माण सम्पन्न हुन्थ्यो ।’

उनका अनुसार हाल सञ्चालनमै रहेका पुरानो आयोजनाहरुको कूल दायित्व २ खर्बको हाराहारीमा छ । यस्तो अवस्थामा औचित्यहिन नयाँ कार्यक्रमलाई बजेट छरेर कसैले पनि मनपरी गर्न नपाइने उनको भनाई छ । मन्त्री महासेठको मनपरीका कारण आगामी आर्थिक बर्षमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गतको योजनाको संख्या पनि अत्याधिक थपिएको छ । चालु आर्थिक बर्षमा कूल ३ सय २ वटा मात्रै योजना रहेकोमा आगामी आर्थिक बर्षमा मनपरी योजना थपेर ८ सय ९८ वटा पुर्याइएको छ ।

उदाहरण दिँदै उनले भने, ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत ५० मिटर चौडाई भएको सिराहा जिल्लाको चौहर्वा–माडर मुख्य सडक खण्ड अहिले बजेट अभावले थला परेको छ । यति ठूलो महत्वको सडकलाई आगामी बर्षमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।’

अर्कोतर्फ खास व्यक्ति विशेषको क्षेत्रमा एक व्यक्तिको घरदेखि अर्को व्यक्तिको घरसम्म बाटो ढलान गर्न १ करोड रुपैयाँ बिनियोजन गरिएको छ । जनकपुरमा रामबाबु साहको घरदेखि सन्तोष जयसवालको घरसम्म बाटो ढलान गर्न बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

पूर्व भौतिक पूर्वाधार सचिव तुलसी सिटौलाले यसरी व्यक्ति विशेषको प्रभावमा योजना छनौट गरी बजेटको चरम दुरुपयोग भएको बताए । उनले भने,‘एउटै खास व्यक्तिको क्षेत्रमा अत्याधिक कार्यक्रम र बजेट जानु भनेको आफैमा बजेटको चरम दुरुपयोग हो, यस्ता कार्यक्रमले न स्थानीयबासी लाभान्वित हुन्छन, न त ति कार्यक्रमले अगामी दिनमा सामरिक महत्व, आर्थिक, सामाजिक रुपमा योगदान नै पुर्याउन सक्छ ।’

मन्त्री महासेठको ‘इन्ट्रेस्ट’ मा डेढ अर्बको ७५ भन्दा बढी योजना

बार्षिक पुस्तिकाअनुसार चालु आर्थिक बर्ष २०८०/८१ सम्म प्राथमिकतामा नपरेको धनुषा जिल्ला आगामी आर्थिक बर्ष २०८१/८२ मा उच्च प्राथमिकतामा परेको छ ।

कारण हो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभागीय मन्त्री महासेठ आफैं छन् । यसका साथै उनी धनुषा जिल्लाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेबाट निर्वाचित सांंसदसमेत हुन् ।

चालु आव २०८०/८१ मा धनुषा र महोत्तरीमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत जनही १/१ करोड बजेट भएको तीनवटा योजना मात्रै परेको थियो । चालु आर्थिक बर्षमा ३ सय २ वटा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत योजनाहरु सञ्चालनमा छन् । जसमध्ये ३ वटा मात्रै धनुषा र महोत्तरीमा सञ्चालनमा आएको छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ मा भने मन्त्री महासेठको इच्छाशक्तिमा धनुषा, सिराहा, महोत्तरी र सर्लाहीमा मात्रै कूल ८ सय ९८ योजनामध्ये ७० भन्दा बढी योजना परेका छन् ।

क्लिकमान्डुसँग कुरा गर्दै मन्त्री महासेठले आफ्नो प्रभावमा सडकको योजना ल्याइएको विषय गलत भएको दाबी गरेका छन् ।

‘बजेट निर्माण र योजना छनौटमा विभागीय मन्त्रीको कुनै संलग्नता हुँदैन, कार्यक्रम तथा बजेट छनौटदेखि प्राथमिकीकरण र बजेट बिनियोजन गर्नेसम्मको प्रक्रियामा मन्त्रीको कुनै संलग्नता हुन्न्,’ क्लिकमाण्डुसँग कुरा गर्दै उनले भने,‘बजेट तथा कार्यक्रम बनाउने, प्राथमिकतामा राख्ने र बजेट प्रस्ताव गर्ने लगायतका सम्पूर्ण प्रक्रियामा विज्ञ कर्मचारी संलग्न हुने भएकाले यसमा मेरो कुनै स्वार्थ र दोष छैन । मेरो वा मेरो परिबारको स्वार्थमा कुनै खास स्थानमा पर्याप्त बजेटसहितको कार्यक्रम पनि आएको छैन ।’

उनका अनुसार देशभरबाट गरी ८ हजारको संख्यामा सडकसम्बन्धी योजनाहरु माग आएको थियो । जसलाई जनही १÷१ करोडको दरले मात्रै बजेट बिनियोजन गर्दा पनि ८० अर्ब बजेट आवश्यक थियो । तर प्राप्त मागमध्ये प्राथमिकता, आवश्यकता र औचित्यको आधारमा उपयुक्त योजनाहरु छनौट गरिएको उनको दाबी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब तथा प्रवक्ता शुशिलबाबु ढकालका अनुसार कार्यक्रम छनौट तथा बजेट बिनियोजनको सबालमा कर्मचारी संलग्न भएपनि अन्तिम निर्णय राजनीतिक नेतृत्वको हुन्छ ।

ढकालले भने, ‘बजेट तथा कार्यक्रम निर्माणमा पक्कै कर्मचारी संलग्न हुन्छन । तर यो राजनीतिक दस्तावेज पनि हो । यसमा पोलिटिकल लिडरशीपको पनि संलग्नता हुन्छ ।’

मन्त्री महासेठले बजेट तथा कार्यक्रम ल्याउने सबालमा आफ्नो संलग्नता नभएको दाबी गरेपनि बार्षिक पुस्तिकाले भने मन्त्री महासेठको इच्छाको भरमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत धनुषा जिल्लामा मात्रै ६४ करोडभन्दा बढि बजेटको ४० भन्दा बढि सडकसम्बन्धी योजना प्राथमिकतामा परेको फेला परेको छ ।

यस्तै उनको विशेष पहलमा महोत्तरी जिल्लामा पनि १४ करोड रुपैयाँबराबरको १४ वटा योजना परेका छन् । त्यस्तै ससुराली पक्षको प्रभावमा सिराहा जिल्लाको कर्जन्हा, बस्तीपुर, बन्दीपुर, कल्याणपुरलगायतका क्षेत्रमा पनि २१ करोड ५२ लाख रुपैयाँको १३ योजना परेको छ ।

यस्तै एनआरएनको संस्थापक अध्यक्ष तथा महासेठका ठूलो जेठान उपेन्द्र महतोको प्रभावमा काभ्रेप्लान्चोकको पाँचखालमा १ करोडको एक योजना प्राथमिकतामा परेको छ । त्यस्तै सर्लाहीमा पनि मन्त्री महासेठको इच्छामा जनही १/१ करोडको ३ सडक योजना परेका छन् ।

सिराहाको कर्जन्हा नगरपालिका मन्त्री महासेठको ससुराली घर हो । महासेठका पत्नी तथा धनुषा क्षेत्र नम्बर ३ कि सांसद जुली महतो, सिराहा क्षेत्र नम्बर ४ का सांसद डा. वीरेन्द्र महतो र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो साख्खै बैनी दाई हुन् । परिबार नै राजनीति र उच्च पहुँचमा सक्रिय भएकाले त्यसको प्रभाव पनि सडक कार्यक्रममा देखिएको हो ।

गृह जिल्लामा सडक योजनाको चाङ
असार ११ गते भौतिक पूर्वाधारसम्बन्धी बजेटको बिषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री महासेठले आफैले पनि कुनै ‘खास’ अर्थात ‘धनुषा’ जिल्लामा अत्याधिक कार्यक्रम र बजेट छनौट गरी नलगेको दावी गरेका थिए ।

‘बाहिर जे जस्तो कुरा आएपनि कुनै खास जिल्लामा ठूलो संख्यामा कार्यक्रम र बजेट गएको छैन,’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं उनले भनेका थिए,‘प्राप्त मागहरुमध्ये प्राथमिकता, आवश्यकता र औचित्यको आधारमा उपयुक्त योजनाहरु छनौट गरि कार्यक्रममा समावेश गरि बजेट उपलब्ध गराइएको हो ।’

उनले यस्तो दाबी गरिरहँदा बार्षिक पुस्तिकाको कार्यक्रम र बजेटले भने मन्त्री महासेठको दाबीलाई गलत ठहराएको छ । मधेश प्रदेशको ८ जिल्लामध्ये धनुषामा आगामी आर्थिक बर्षमा सबैभन्दा बढी बजेट तथा कार्यक्रम सडक पूर्वाधारतर्फ प्राथमिकतामा परेको छ ।

धनुषामा २ अर्ब ६० करोड ९० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसबाहेक बार्षिक पुस्तिकामा केही कार्यक्रम उल्लेख गरिए पनि जिल्ला र स्थानीय स्थानको परिचित नाम उल्लेख नगरिकन पनि धेरै बजेट छुट्टयाइएको छ ।

धनुषाको लागि आगामी आर्थिक बर्षमा बिनियोजित २ अर्ब ६० करोड ९० लाख मध्ये पनि बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत झण्डै डेढ अर्बको ७५ भन्दा बढि आयोजना छनौट गरी कार्यक्रममा समावेश गरिएको छ ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं उनले भनेका थिए,‘कुनै खास जिल्लामा धेरै कार्यक्रम र बजेट लगेको भनेर चर्को बिरोध भएपनि अन्य प्रदेशको कतिपय जिल्लाको तुलनामा धनुषामा २ अर्ब ६० करोड ९० लाख रुपैयाँबराबरको मात्रै कार्यक्रम गएको छ । यो सबै हावादारी कुरा हो ।’

महासेठले धनुषामा मात्रै १ करोड बजेट भएको ३० योजना, १ करोड ७१ लाख बजेट भएको ९ योजना, १ करोड ६२ लाख बजेटको २ योजना, २ करोडभन्दा माथिको ४ योजना गरी ३८ योजनामा ६२ करोड ९ लाख ९४ हजार रुपैयाँ बिनियोजन गरेका छन् ।

महासेठको इच्छाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनही १ करोड रुपैयाँ बजेट भएको योजनामा जनकनन्दनी गापा १ इनर्वादेखि कमला नपा ४ सघारा चौंकहुँदै बगरको छेउहुँदै कमला नपा ८ हरिनेसम्मको बाटो, हारसरको उत्तर पुल कछियारी टोल र मोला पोखरीहुँदै नहरसम्मको सडक क्षिरेश्वरनाथ नपा, बटेश्वर राजपुर घलेटोल सडक, बटेश्वर १ लवकुशदेखि कुशुम बिशौना सडक, बन्दिपुर धरमपानी सारंगघाट सडक, मिथिला नपा २ पानी ट्याँकी विद्यूत प्राधिकरणहुँदै बडा ७ को तल्लो टोल ६ लेनको सडक हुँदै ढल्केवर स्कुल जोड्ने सडक, रमौलीटोल बटेश्वर बजार सडक र राजमार्ग ६ लेनदेखि निकाल भङ्गाह राष्ट्रिय धानवाली नहर हुँदै भैरवस्थान मावि सडक परेका छन् ।

यस्तै १ करोड बजेटको योजनामा मिथिला नपा ११ जिरे डाडाको चौतारादेखि हातिगौडा मखनटोल सडक, बिन्ही पेट्रोलपम्पदखि बसहिया सडक, जनकपुर २१ कुर्था बाटिकादेखि पूर्वारी टोल हुँदै चाँदनीचौक तपनपुर सिमासम्म सडक, मिथिला नपा ८ सुखाजोर खोलासम्म सडक, मिथिला नपा ११ लालवस्ती सिकारीडाँडा घरसाटोल सडक, जनकपुर २१ रामचौकदेखि स्मसानघाट पिराडी जनकपुर सत्यनारायण पार्क स्मृति सडक, जनकपुर २५ लोहना झोलुङे पुलसम्म सडक, जनकपुर लोहना नयाँपुलदेखि बहुअर्वा जोड्ने सडक, जनकपुर २२ पूर्वारी टोलदेखि दूधमति नदि सडक, बिसबिटी पश्चिमबारी टोलीको उत्तरतर्फ बल्वा टोलसम्म सडक, सुम्नाम टोलदेखि तुल्सी साबिक १ र २ वडा हुँदै माझि टोलहुँदै सुन्दरी खोला सडक, सपही मुस्लिम टोलदेखि भंगाहा सिमानासम्म सडक, सपही क्याम्पदेखि निकालटोलसम्म सडक, सबैला चक्रपथ र रामबाबु साहको घरदेखि सन्तोष जयसवालको घरसम्म ढलान कार्यक्रम परेको छ ।

यस्तै जनही १ करोड ७१ लाखको योजनातर्फ जनकपुर पुलचोक शिवपुर ठेरा सडक, जनकपुर १९ हाइवे महावीर मन्दिरदेखि जमुनिया हुँदै कुमरौडा बगेवा भंगाहा बनेनिया नहर सडक, लक्ष्मीनिया गापा दोहल टोलदेखि लक्ष्मीनिया बजारहुँदै बगेवा ठेरा कटरैत सडक, जनप्रिय माविदेखि गुम्बाचोक सडक, मिथिला नपा १० माथिल्लो सार्वजनिक पोखरीहुँदै बडहरीबजार सम्बासिंह टोलहुँदै चित्रपुर सडक, मिथिलाबिहारी नपाको मिथिलेश्वर मौहाइ बडा ३ हाइवे प्रतिक्षालयदेखि पुरानो बजारहुँदै पुरनदह सडक, महेन्द्रराजमार्गबाट उत्तरतर्फ हुँदै पछवारीटोल र दक्षिणतर्फ कटुवाल टोल नक्टाझिझसम्म सडक, विदेह नपा ९ खरियानी पुलदेखि पर्वा खोलाहुँदै धनौजी गापा सडक र जनकपुर २ सोना महरानी सडक परेका छन् ।

त्यस्तै जनही १ करोड ६२ लाखको योजनातर्फ भानुभक्त टोल सुनार टोल माझी गाउँ ढाडखोला सडक तल्लो तुलसी सडक र बटेश्वर २ राजपुर पाटोटोल जनप्रिय मावि सोनापुर सडक परेको छ । त्यसैगरी २ करोड ६९ लाख ३२ हजारको बटेश्वरबजार सितापुरचौक कात्तिक कुंवरहुँदै निरशपुर लवकुश लक्ष्मीनिया मावि बडा कार्यालयसम्म सडक परेको छ । २ करोड १५ लाख ४६ हजारको शान्तिपुर ५ दुर्गा मन्दिरहुँदै बरदुरिया लामाटोल कालीपुर ठाकुरटोल सडक परेको छ । ४ करोड ३१ लाख बजेटको महेन्द्रराजमार्गदेखि हरिपुरदेखि महेन्द्रनगरदेखि चन्द्रपुर सडक परेको छ । यसैगरी ११ करोड ३१ लाख १६ हजार बजेटको जनकपुर चक्रपथ पनि महासेठको प्राथमिकतामा परेको छ ।

ससुराली क्षेत्रमा साढे २१ करोडको १३ योजना
मन्त्री महासेठले आफ्नो गृह जिल्ला मात्रै होइन, सडक आयोजना छनौट र बजेट बिनियोजनको प्राथमिकतामा आफ्नो ससुराली क्षेत्रलाई पनि त्यतिकै खयाल गरी छनौट गरी रकम उपलब्ध गराएका छन् ।

सिराहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा जिल्ला नजिकैको कर्जन्हा नगरपालिका मन्त्री महासेठको ससुराली घर हो । कर्जन्हा महासेठका पत्नी तथा धनुषा क्षेत्र नम्बर ३ कि सांसद जुली महतोको माइति र सिराहा क्षेत्र नम्बर ४ का सांसद डा. वीरेन्द्र महतो र उपेन्द्र महतोको आफ्नो जन्म घर हो ।

क्षेत्र नम्बर ४ बाट निर्बाचित भएका जुली महतोका दाई बीरेन्द्र महतोकै निर्बाचन क्षेत्रमा कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिका पर्छ । त्यहि भएर ति दुवै नगरपालिकासहित क्षेत्र नम्बर ४ लाई प्राथमिकतामा राखेर मन्त्री महासेठले बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत विभिन्न सडक योजना छनौट गरी बजेट बिनियोजन गरेका छन् ।

यो क्षेत्रमा २१ करोड ५२ लाख कूल बजेटको १३ वटा योजना बार्षिक पुस्तिकामा समावेश गरी बजेट बिनियोजन गरिएको छ । जसअनुसार जनही १ करोडको एक योजना घुर्मि बंठिया कल्याणपुर सडक समावेश गरिएको छ भने १ करोड ७१ लाख बजेट भएको १२ वटा योजना समावेश गरि बजेट बिनियोजन गरिएको छ ।

यसमा बन्दिपुरदेखि उत्तरायनी सडक, बस्तीपुर कर्जन्हा सिकना निर्दनाहुँदै कल्याणपुर सडकमा नालासहित कालोपत्रे, मनहर्वा गौतारी सिक्रोनसम्म सडक स्तरोन्नती तथा कालोपत्रे, बस्तीपुर बेलसोता उदयपुर सडक निर्माण, कर्जन्हा जनसेवा विद्यालयदेखि असोनहुँदै थलहा सडक स्तरोन्नती, मिर्चैया नपा ५ मटियर्वा चौकदेखि वडा ८ फुलवरिया छघरिया जाने सडक कालोपत्रे, कर्जन्हा नपा ११ बगहा देज्गु रजैया सडक स्तरोन्नती, कल्याणपुर नपा ८ बरकी टोल मझाउदेखि जयपुरसम्म सडक निर्माण, नरहा चौकीदेखि कल्याणपुरसम्म सडक स्तरोन्नती, साझा चौकदेखि जीवाहुँदै हिलपार्कसम्म सडक स्तरोन्नती, बस्तीपुर कर्जन्हा मरेवा भेडिया भोक्राहा चिकना निर्दना मझाउ कल्याणपुर सडक र मनहर्वा गौतारी सिक्रोनसम्म सडक निर्माण निर्माण योजना परेका छन् ।

मन्त्री बदनियत यतिमै सिमित छैन, उनले ठूलो जेठान उपेन्द्र महतोको इच्छामा काभ्रेप्लान्चोकको पाँचखालमा पनि १ करोडको एउटा कार्यक्रम बार्षिक पुस्तिकामा समावेश गरेका छन् । पाँचखालस्थित पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर कलेज गेटदेखि फुलकुमारी महतो योगाहल हुँदै नयाँबस्ती जोड्ने सडकको लागि १ करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

बजेटमा असन्तुष्टी जनाएको एमालेले माओवादीसँगको गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेको छ र बुधबार महासेठसहित एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका छन् । नयाँ सरकार नबनेसम्म उनीहरुले कामचलाउ मन्त्रीको हैसियतमा काम गर्ने छन् ।

सडक पूर्वाधारमा कुन प्रदेशमा कति बजेट बिनियोजन
आगामी आर्थिक बर्षमा सडक आयोजनातर्फ ७ प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशलाई बजेट बिनियोजन गरिएको छ । बागमतीलाई १४ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै दोश्रोमा कोशी प्रदेशमा १० अर्ब ८४ करोड ४० लाख, तेश्रोमा लुम्बिनी प्रदेशमा ९ अर्ब ५० करोड ५० लाख, चौथोमा मधेश प्रदेशमा ७ अर्ब ८२ करोड ५० लाख, गण्डकीमा ६ अर्ब ९८ करोड, कर्णालीमा ६ अर्ब ८१ करोड र सुदुरपश्चिम प्रदेशमा ५ अर्ब २२ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

मधेश प्रदेशको रौतहठमा ७३ करोड ४० लाख, सिराहामा १ अर्ब ५० करोड ५० लाख, पर्सामा ५० करोड, बारामा ४२ करोड, महोत्तरीमा ५८ करोड १० लाख, सप्तरीमा ७२ करोड ६० लाख र सर्लाहीमा ७५ करोड ८ लाख रुपैयाँको सडकसम्बन्धी विभिन्न कार्यक्रम परेका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार ००:००  ६ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping