मेरो नेतृत्त्वको २० महिनाः महासंघले के-के गर्‍यो ? « Eglish Khabarhub

मेरो नेतृत्त्वको २० महिनाः महासंघले के-के गर्‍यो ?


२३ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो । त्यो खबर थियो, निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्ट्रियसभाले कानुन पारित गरेको ।

यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो । त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसंग छलफल गर्‍यो । तत्काल कांग्रेस संसदीय दलले संसद सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरुलाई बोलायो ।

त्यहाँ म लगायत निजी क्षेत्रले किन निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनु हुँदैन भनेर सम्झाउने प्रयास गर्यो । त्यसपछि नेपाली कंग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बारम्बार छलफल भयो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितमा गएर छलफल सुरू भयो ।

निजी क्षेत्र किन महत्वपूर्ण छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने आवश्यकता महासंघले महसुस गरेको थियो ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्टिय वित्त निगमसँगको सहकार्यमा स्टेट अफ प्राइभेट सेक्टर नामक अध्ययन प्रतिवेदन २०८० जेठमा सार्वजनिक गरियो । जसले पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखायो । जसअनुसार अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान देखाएको छ । जसलाई अहिले धेरैले सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरेको पनि पाइएको छ।

यस विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन मिति २०८१ भाद्र २ गते महासंघले संघीय संसदका सदस्यहरुसँग दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया आयोजना गर्यो । उक्त कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकको साथै निजी क्षेत्रसँग सम्बन्धित संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धि (बाफिया), विद्युत, राष्ट्रिय मर्यादा, भन्सार, विद्यालय शिक्षा लगायतका १२ भन्दा बढी विधेयकमा छलफल भयो । दुवै संसदका करिब १७५ सांसदको यसमा उपस्थिति थियो ।

२०८१ भदौ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण ऐनमा निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि राखिएको व्यवस्था हटाउन राज्य व्यवस्था समितिमा महासंघले लिखित पत्र दर्ता गर्यो । अहिले राजनीतिक दल निजी क्षेत्रमा अख्तियारको प्रवेश रोक्न सहमत भएका छन् ।

अर्को वर्षौंको विवादको विषय डेडिकेटेड र टंकलाइन सम्बन्धमा हो । झण्डै पाँच वर्ष पहिलेदेखिको विवाद २०८० भदौमा फेरि चर्कियो । विद्युत प्राधिकरणले विवादास्पद विषयमा उद्योगहरुको लाइन काटने भनेपछि महासंघ मेरो नेतृत्वमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन पुगेको टोली कै अगाडि प्रधानमन्त्रीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लाइन नकाट्न निर्देशन दिनुभयो ।

विवाद तीन महिना समाधान भएजस्तो देखिएपनि पुसमा प्राधिकरणले सीधै लाइन काटिदियो । यसमा पक्ष विपक्ष छलफल भए । सम्बन्धित उद्योग विरोधमा रहे भने प्राधिकरणले जसरी पनि वक्यौता उठाउने हठ गरिरह्यो ।

त्यसपछि महासंघले विवादको दिगो समाधानका लागि उच्चस्तरिय आयोग गठन गर्ने सरकारसँग प्रस्ताव राख्यो भने यस विषयमा २०८० पुस ९ गते विज्ञप्ति प्रकाशन गर्यो । जसमा प्रमाणको आधारमा बिल भुक्तानी गर्ने गरि आयोगले काम गर्नुपर्ने माग महासंघको थियो ।

त्यसलगत्तै २०८० पुष २४ गते सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिशचन्द्रलालको अध्यक्षतामा आयोग गठन भयो । र आयोगले प्रतिवेदन पनि बुझायो ।

त्यसपछि पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नगर्ने धेरै बहस, छलफल भए । तर, अन्तत: २०८१ कार्तिक २६ गते उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले कार्यान्वयन गर्ने निर्णय गर्यो । यो विषय पनि अब समाधानउन्मुख रहेको छ ।

पछिल्लो करिब तीन वर्षदेखि खल्बिलिएको लगानीको वातावरणलाई सुधार गर्नुपर्ने चुनौति पनि महासंघ नेतृत्वमा थियो र छ पनि। बैंकहरुमा करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिनु स्वदेशी लगानीकर्ताले लगानी गर्न नचाहेको प्रमाण हो । यस्तै ३ वर्ष अघिको तुलनामा विदेशी लगानी करिब ६० प्रतिशत घटेर ६ देखि ९ अर्ब हाराहारीमा सिमित भएको अवस्था छ । यो कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत हो । नेपालसँगै विश्व व्यापार संगठनको सदस्य बनेको कम्बोडियामा कुल गार्हस्थ्य उत्पादनको साढे १२ प्रतिशत विदेशी लगानी छ भने रुवाण्डा, इथियोपिया र बंगलादेशजस्ता नेपाल जस्तै अतिकम विकसित मुलुकमा ४ प्रतिशत माथि छ ।

महासंघको ढोरपाटनमा सम्पन्न कार्यकारिणी समितिले महासंघको पहलमा एउटा लगानी कम्पनी स्थापना गरि देशैभरिको सानो लगानीलाई विभिन्न क्षेत्रमा प्रवाह गर्ने निर्णय गर्यो । उक्त कम्पनी महासंघले संचालन गर्ने नभइ सुरूमा प्रवर्द्धन गर्ने र यसको छुट्टै सञ्चालक समिति रहने गरि सबै संघसंस्थाका सदस्य एवं गैरसदस्य पनि लगानीकर्ता रहने गरि प्रवर्द्धन गरिएको छ ।

१० अर्ब रुपैयाँसम्म पुँजी रहने उक्त कम्पनीको अर्को उद्देश्य निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुका साथै स्थानीय पुँजी परिचालन गरि ठूला आयोजना संचालन गर्न सकिने सन्देश दिनु पनि हो ।

यतिमात्रै होइन विदेशमा नेपाल प्रवर्द्धन गर्न यस अवधिमा ४ वटा वृहत लगानी सम्मेलन देशबाहिर आयोजना गरिए । चीनमा दुईपटक नेपाल चीन बिजनेस समिट आयोजना गरियो । सन् २०२३ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री दाहाल र २०२४ डिसेम्बर ४ मा आयोजित समिटमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य अतिथि हुनुहुन्थ्यो । चीनका वाणिज्य उपमन्त्री लियांग जी विशेष अतिथि रहेको उक्त दुबै कार्यक्रममा करिब डेढ सय चिनियाँ उद्यमी व्यवसायीको सहभागिता थियो । महासंघले चिनियाँ साझेदार संस्था सीसीपीआईटीसँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको थियो ।

२०८० जेष्ठ १८ गते नयाँ दिल्लीमा नेपाल भारत समिट आयोजना गरिएको थियो । भारतको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री दाहाल प्रमुख अतिथि रहनुभएको उक्त समिटमा भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
त्यसपछि मिति २०८० मंसीर १४ गते दुबईमा नेपाल दुबई बिजनेस फोरम आयोजना गरियो । विश्वमा नै निकै प्रभावशाली रहेको दुबई चेम्बर्ससँगको सह–आयोजनामा सफलतापूर्वक कार्यक्रम भयो । नेपालका तत्कालीन प्रधानमन्त्री दाहालको उपस्थित रहेको उक्त कार्यक्रममा करिब एक सय ७० जनाको उद्योगी व्यवसायीको सहभागिता थियो ।

२०८० कार्तिक २० र २१ गते दक्षिण पुर्वी एसियाली मुलुकका चेम्बरहरुको संगठन एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) को सम्मेलन नेपालमा आयोजना गरियो । उक्त सम्मेलन आयोजना गर्न क्याम्बोडियाले असमर्थता जनाएपछि नेपालमा आयोजित सो सम्मेलनमा करिब ६० जना विदेशी सहित झण्डै २ सय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । पहिलोपटक राजधानी बाहिर भैरहवामा महिला उद्यमी सम्मेलन आयोजना गरियो ।

कतारका राजा अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका तत्तकालिन प्रधानमन्त्री दाहालको उपस्थितिमा नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बरबीच मिति २०८१ वैशाख १२ मा काठमाडौंमा सझौतापत्रमा हस्ताक्षर भयो । त्यसपछि अध्यक्षस्तरिय वैठक दोहामा सम्पन्न भएको छ ।

अगस्ट ६-७, २०२४ मा भारतको नयाँदिल्लीमा सम्पन्न बिमस्टेक बिजनेस समिट २०२४ मा बिमस्टेक चेम्बर अफ कमर्स स्थापना गर्ने सहमति भएको छ । यसको प्रस्ताव मैले २०२३ जुनमा कोलकतामा आयोजित यस्तै सम्मेलनमा राखेको थिएँ ।

महासंघको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निरन्तर संलग्नता पश्चात सम्भावित लगानी गर्ने मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता आवश्यक रहेको विषय सम्बन्धित निकायमा निरन्तर माग गरेपछि द्विपक्षीय लगानी सम्झौताको खाका मन्त्रीपरिषद्ले पारित गरेको छ । केही मुलुकहरुसँग सम्झौता गर्ने गरी छलफल अगाडि बढेको छ । महासंघले यसमा सहजीकरण गरिरहेको छ ।

२०८१ वैशाख १६ र १७ गते आयोजना गरिएको तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा लगानी बाधकको रुपमा रहेका कानूनमा सुधार भए ।

यो सुधारको सुरूवात हो । यसबीचमा संरचनात्मक सुधारका लागि नयाँ चरणको सुधार योजना अगाडि बढाउन आवश्यक रहेको महासंघले महसुस गरेको छ । २०८० असोज २५ गते वृहत् आर्थिक बहस कार्यक्रम आयोजना गरि चालु पुँजी कर्जा मार्गनिर्देशन लगायतमा सुधार तत्काल परिमार्जनसँगै नयाँ चरणको आर्थिक सुधार गर्नुपर्ने र यसका लागि उच्चस्तरिय आयोग गठनको माग महासंघले गर्यो ।

यसबीचमा गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केही माग सम्बोधन भए । चालु पूँजी कर्जा मार्गदर्शनमा केही संसोधन भए । त्यसले थोरै राहत मिल्यो । त्यतिबेला उद्यमी व्यवसायीले पुरै राहत महसुस गरेनन् तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अन्य केही विषय समावेश भए । तैपनि सुधारका लागि पर्याप्त छैनन् ।

नयाँ चरणको सुधारका लागि निजी क्षेत्र सम्मिलित उच्चस्तरिय आयोग गठनको माग हामीले नै पहिलो पटक गरेका थियौं । नयाँ अर्थमन्त्रीको सय दिने कार्यक्रममा पनि यो विषय समावेश भयो । सम्माननीय प्रधानमन्त्रीज्युको सय दिने कार्यक्रमको सम्बोधनमा पनि प्रष्ट रुपमा निजी क्षेत्रको माग बमोजिम आयोग गठन भएको भन्ने उल्लेख छ ।

त्यसलगत्तै पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा आयोग गठन भएको छ मलगायत अन्य संस्थाका अध्यक्ष पनि सदस्य हुनुहुन्छ ।

अब सुधारको थप जिम्मेवारी म माथि आएको छ । हामी निरन्तर प्रयास गरिरहेका छौं र गरिरहने छौं ।

यसबीचमा महासंघका गतिविधि प्रभावकारी रुपमा सञ्चालन गर्न सचिवालय सुधारमा विशेष पहल भएको छ । प्रमाणमा आधारित सुझाव दिन अनुसन्धान र विकासका लागि बिजनेस इन्टिलिजेन्स सिस्टम सफ्टवेयर जडान गरिएको छ । नेपाल राष्ट्र बैंकसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसको समेत उपयोग गरि आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तराष्टिय आर्थिक सम्मेलन आयोजना हुँदैछ ।

महासंघको दैनिक कार्य सञ्चालन अन्तर्गत लेखा प्रशासन अनलाइन बनाइएको छ । मुख्य गरि लेखा र अन्य गतिविधिमा गरिएको प्रभावकारी सुधारको फलस्वरुप करिब ८ वर्षदेखि रोकिएको कर छुटको प्रमाणपत्र प्राप्त भएको छ । यसबाट सदस्यहरुलाई पनि कर छुटको प्रमाणपत्र लिन सहज भएको छ ।

उत्पत्तिको प्रमाणपत्रको व्यवस्थापनका लागि सफ्टवेयर बनिरहेको छ । समन्वय र यस सम्बन्धि थप सुधारका लागि जिल्ला नगर उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यको संयोजकत्वमा समिति गठन भएको छ । प्रमाणपत्र जारि गर्ने सबै जिल्ला नगर उद्योग वाणिज्य संघलाई अनिवार्य अनलाइन प्रणालीमा जोडनु आवश्यक छ । प्रमाणपत्र जारि गर्ने प्रक्रिया यसबाट थप पारदर्शी हुने महासंघको विश्वास छ ।

यसबीचमा जीआईजेडसँगको सहकार्यमा २० स्थानमा राजस्वसम्बन्धि तालिम यस अवधिमा आयोजना गरिए । धितोपत्र बोर्डसँगको सहकार्यमा पुँजीबजार सम्बन्धि तालिम आयोजना गरिरहेको छ । बजार प्रवर्द्धनमा सहयोग प्रदान गर्न मेला महोत्सव आयोजना गर्ने जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई १ लाख रुपैयाँका दरले आर्थिक सहयोग पनि महासंघले दिन थालेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व
महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ । समाजसेवालाई दायित्व मानेर जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पको राहतका लागि करिब २० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गरायो । टर्किको भुकम्पको राहतका लागि पनि महासंघले सहयोग उपलब्ध गरायो । यही असोजको बाढीबाट प्रभावित जिल्लालाई १ लाख रुपैयाँका दरले सहयोग प्रदान गर्ने निर्णय महासंघले गरेको छ ।

प्याराओलम्पिकमा रजत पदक ल्याउन सफल पलेशा गोवर्द्धनलाई हौसला प्रदान गर्न पाँच लाख रुपैयाँ बराबरको सहयोग महासंघले प्रदान गरेको थियो । (ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार ००:००  ४ : ११ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping