४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार « Eglish Khabarhub

४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार



काठमाडौं । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनामा भारतका अर्बपति व्यापारी गौतम अडानीले लगानी गर्ने भएका छन् ।

स्थानीय साझेदारी सिजी ग्रुपमार्फत अडानीले मुगु कर्णालीमा लगानी गर्न लागेका हुन् । सिजी ग्रुप प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको हो ।

विद्युत उत्पादन कम्पनीले मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुणमा लगानी जुटाउन प्रस्ताव मागेको थियो । उक्त प्रस्तावमा मंगलबार १२ बजेसम्म आवेदन दिने समय थियो । मुगु कर्णालीमा लगानी जुटाउन सिजी इनर्गो प्रालिको आवेदन परेको छ । यो सिजी ग्रुपको कम्पनी हो ।

लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म औपचारिकता पाउन सकेको छैन । अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुउदेश्यीय आयोजनामा चासो देखाएको थियो। त्यस्तै काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै निजगढ लगायतका एयरपोर्टमा पनि चासो देखाएको थियो।

मुगु कर्णालीमा भने लगानी गर्ने निश्चित भएको विश्वस्त स्रोतको दाबी छ । स्रोतका अनुसार अडानी आउने निश्चित भएपछि सिजी इनर्गोले आवेदन दिएको हो । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा सिजी इनर्गोले ५१ प्रतिशत लगानी जुटाउनेछ ।

मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । । यो आयोजनाले ६२९१.८ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।

स्रोतका अनुसार व्यवसायी दीपक मल्होत्रासँग ३२५ मेगावाटको माथिल्लो भेरी आयोजना अडानी समूहले लिन खोजेको थियो । तर मूल्यमा सहमति नभएपछि अडानी समूह ब्याक भएको हो । मूल्य मिलेको भए तेस्रो लगानीसम्मेलनमा नै एमओयु गर्ने तयारी थियो ।

विद्युत उत्पादन कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग मागिएको छ ।  नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख छ । विदेशीलगानीकर्ता ल्याउँदा कम्पनीको लगानी साँझेदारी कार्यविधी-२०८१ संशोधन गर्नुपर्छ ।

किमाथांका अरुण जलविद्युत आयोजनामा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोवल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि र अनक हाइड्रोपावर कम्पनी लिमिटेडले  आवेदन दिएका छन् ।

किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।

Publish on: