उद्यमी बन्न चाहनुहुन्छ ? शनिबारको उद्यमी मेला फलदायी हुन सक्छ « Eglish Khabarhub

उद्यमी बन्न चाहनुहुन्छ ? शनिबारको उद्यमी मेला फलदायी हुन सक्छ



काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरुको समूह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना स्टार्टअप प्रदर्शनी गर्ने भएको छ । ‘जीबीजी बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ नाम दिइएको उक्त मेलामा २०० भन्दा धेरै स्टार्टअपहरुको प्रदर्शनी रहने छ । मेला ललितपुर जावलाखेलस्थित डिएभी स्कुलमा आयोजना हुनेछ ।

जीबीजी बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो ।

नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसनको मुख्य सहकार्यमा गर्न लागिएको मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ ।

कार्यक्रममा स्टार्टअप प्रदर्शनीसँगै विशेष वर्कशप कार्यशालाहरु पनि संचालन गरिनेछ जहाँ नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् ।

‘धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनी नेपाली बजारमा आएका छन् ? के काम गर्छन भन्ने धेरैलाई थाहा छैन, स्टार्टअपहरुसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधन पनि हुँदैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका सम्भावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको हो,’ गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने ।

जीबीजी बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउनेछन् । जसलाई उनीहरुका लागि व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ ।

मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्दै छन् । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणको कार्यक्रममा १२०ंंंं स्टार्टअप र ५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता थियो ।

प्रदर्शनीमा ‘गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल छ । प्रदर्शनीमा सहभागी स्टार्टअपले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।
यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।

धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।

Publish on: