सरोज बस्नेतसहित ४० जना फेरि इक्यानमा फर्किए, अध्यक्षले गरे भव्य स्वागत « Eglish Khabarhub

सरोज बस्नेतसहित ४० जना फेरि इक्यानमा फर्किए, अध्यक्षले गरे भव्य स्वागत



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बाट छुट्टिएर नयाँ संघ स्थापना गरेका सरोज कुमार बस्नेतसहित ४० जनाको समूह फेरि इक्यानमा फर्किएको छ ।

गत निर्वाचनमा अध्यक्ष पदमा विष्णुहरि पाण्डेसँग पराजित भएसँगै कांग्रेस निकटका अधिकांश शैक्षिक परामर्श व्यवसायीहरु इक्यानबाट बाहिरिएका थिए । उनीहरुले नयाँ संघ स्थापना गरेका थिए ।

तर नयाँ संघमा समेत बैचारिक द्वन्द्व फैलिएपछि एक वर्ष नपुग्दै संघमा विवाद आयो र टुक्रिएको थियो । बस्नेतसँगै सबै इक्यानका सदस्यहरुलाई अध्यक्ष पाण्डेलगायतको कार्यसमितिले सोमबार इक्यानको कार्यालय डिल्लीबजारमा स्वागत गर्यो ।

बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको छ । नयाँ सबै सदस्यले प्रमाण पत्र समेत ग्रहण गरे । ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।

‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ पाण्डेले भने ।

कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको थियो, फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका थिए ।

सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो,’ बस्नेतले भने ।

Publish on: