शाइन रेसुङ्गा बैंकको नाफामा ५१ प्रतिशत सुधार, खराब कर्जा बढ्यो

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ७ लाख ९४ हजार ६ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५१.१२ प्रतिशतले नाफा बढेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ९० लाख ३४ हजार ३८५ रुपैयाँ रहेको थियो । बैंकको यो अवधिमा वितरणयोग्य नाफा २५ करोड ३६ लाख ६० हजार ७२० रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि निकै सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ४० करोड ९९ लाख ८० हजार ७१३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ६८ करोड ६६ लाख ७२ हजार ६७७ रुपैयाँ आर्जन गरेको छ ।

यस्तै गत आवको दोस्रो त्रैमासमा २८ करोड २५ लाख ३० हजार १२७ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४२ करोड ७० लाख ९२ हजार ५४० रुपैयाँ आर्जन गरेको छ ।

२ अर्ब ६२ करोड २९ लाख ४ हजार १२४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड ५२ लाख ७४ हजार ३२४ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.६१ प्रतिशतमा पुगेको छ । प्रति सेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा रहेको छ ।