काठमाडौं । राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने भएको छ ।
गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो ।
जसअनुसार विदेशी विनिमय अपचलन हुने गरी गैरकानुनी ?पमा कसैले कारोबार गरिएको पाइएमा कारबाही गरिने राष्ट्र बैंकले जनाएको थियो । सो निर्देशन आएको एक महिना भए पनि कार्यविधि नहुँदा कार्यान्यवन हुन सकेको थिएन ।
राष्ट्र बैंकले सो निर्देशनलाई कार्यान्यवन गराउन थप अध्ययान गरेर कार्यविधि निमार्ण गरिरहेकोे जनाएको छ ।
नेपालबाट सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने कारोबारलाई औपचारिकता दिन व्यवहारीक कठिनाइ भएको कारण यसको कार्यान्यवनमा केही ढिलाइ भएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
‘फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल विदेशी कम्पनी हुन्, ती कम्पनीसँग नेपालले भुक्तानीका लागि सोझै सम्पर्क गर्न कठिन हुन्छ’ उनले क्लिकमाण्डूसँग भने ‘भुक्तानीका लागि हामीले एजेन्ट कम्पनीलाई स्वीकृती दिनेछौं ।’
एजेन्ट कम्पनीबाट नेपालीले सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत् गरिने विज्ञापनको भुक्तानी गर्न सक्ने उनले बताए ।
फेसबुक, ट्विटर, युट्युवले नेपालमा नेपाली कानूनअनुसार ट्रेडमार्क त दर्ता गराए पनि सम्पर्क कार्यालय भने खोलेका छैनन् । त्यसैले हालसम्म कुनै नेपाली व्यक्ति वा कम्पनीले फेसबुक, ट्विटर वा युट्युवमा बिज्ञापन गर्नुपरेमा भने विदेशबाट विदेशी रकममा भुक्तानी गर्नुपर्छ ।
जसका लागि फेसबुक म्यानेजरमा गएर क्रेडिट कार्ड अथवा पे–पालबाट पैसा तिर्नु पर्ने हुन्छ ।
यसका लागि प्रयोग गरिने क्रेडिट कार्ड भने नेपालका बैंकबाट जारी गरिएको चल्दैन । कुनै विदेशी बैंकबाट जारी गरिएको क्रेडिट कार्ड नै चाहिन्छ । सोही कारणले गर्दा बीचमा एजेन्ट कम्पनीको आवश्यकता परेको र उनीहरूलाई मात्र राष्ट्र बैंकले भुक्तानीको अनुमती दिने मिश्रको भनाइ छ ।
‘केही एजेन्टहरू अहिले पनि राष्ट्र बैंकमा विदेशी विनिमयदरमा भुक्तानीका लागि स्वीकृती लिन आइरहेका छन्’ मिश्र भन्छन् ‘एजेन्टमार्फत भुक्तानी गर्दा सरकारलाई कर पनि तिर्नुपर्ने हुँदा कर र एजेन्टको कमिसनका कारणले शुल्क केही महंगो हुन जान्छ ।’
‘कार्याविधि आएपछि यस्ता कारोबारको छानबिन पनि शुरू हुन्छ’ उनले भने ‘छानबिन गर्ने निकायलाई राष्ट्र बैंक छानबिन गरिदिनुस् भनेपछि छानबिन हुन्छ ।’ प्रहरी, सीआईबी तथा अन्य गोप्य तबरबाट यस्ता कारोबारको छानबिन गरी कानून अनुसार अवैध कारोबार गरेको कसुरमा कारबाही हुने मिश्रले बताए ।
यसैगरी हालसम्म युट्युबमा गरिने आम्दानी पनि सिधै नेपालका बैंक खातामा नै जम्मा गर्न सकिने व्यवस्था हालसम्म छैन् । युट्युवले चेक अथवा वेस्टर्न युनियन मनी ट्रान्स्फरमार्फत् नेपाली युट्युव च्यानललाई आम्दानी वापतको रकम पठाइदिने गरेको छ ।
अब भने युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बाताए ।
‘केही समयपछि बैंकहरूमा छुट्टै विदेशी डलरको खाता खोल्न सकिन्छ’ उनले भने ‘यस्ता खातालाई सिधै युट्युव च्यानलमा लिंक गराइ आम्दानीवापतको रकम सिधै सो खातामा जम्मा हुने व्यवस्था मिलाइन्छ ।’
युट्युब प्रयोगकर्ताको सहजताका लागि यसप्रकार बैंकमा निःशुल्क खोल्न पाउने व्यवस्था गरिने मिश्रले बताए ।
SHARE YOUR THOUGHTS